एकै परिवारका तीन चेपाङ बालबालिकाको आँखाको ज्योति फर्किँदा

चन्द्रलाल तामाङ
प्रकाशित: २७ मंसिर २०८०
Image description

लखन गाउँपालिका–४, ताकलुङ्ग तेर्से गोरखाको एकबहादुर चेपाङको आँखाको दृष्टि बिस्तारै कम हुँदै देख्न छाड्यो । त्यसै पनि विकट ठाउँ, शिक्षाको पहुँचबाट टाढा रहेका चेपाङ समुदाय । खाना, लाउनाको सधै अभाव । ज्याला मजदुरी र जङ्गली कन्दमुलबाट प्राण धानेका एकबहादुर चेपाङ अशिक्षा र आर्थिक अवस्थाका कारण उपचार गर्न कतै जान सकेनन् । गाउँघरमा गर्न सक्ने जति झारफुक गरे तर आँखाले देख्न सकेन । भाग्यको खेल वा पूर्वजन्मको श्राप ठानेर स्वीकारे उनले नियतीलाई । ती एकबहादुरको चार जना छोराहरु जन्मे । चार जना छोराहरु मध्ये दुईजना (खुमबहादुर चेपाङ र लोकबहादुर चेपाङ) लाई जन्मजात मोतिविन्दु भयो । तिनीहरुले जन्मजात नै उज्यालो संसार हेर्न र देख्नबाट बन्जित भए । लामो समयको अन्तरालपछि विभिन्न ब्यक्ति तथा संघसंस्थाको सहयोगमा चितवन तिर गएर मोतिविन्दुको अपरेशन गरी आँखाको ज्योति प्राप्त गरे ।

खुमबहादुर र लोकबहादुर दुःखम सुखम बढे, हुर्के । उनीहरुको घरजम भए, आ–आफ्नो जिन्दगी प्रकृतिको नियम अनुसार अगाडी बढे । खुमबहादुरको छोरी दीपशिखाको जन्म भयो तर आँखाको ज्योति कमजोर । त्यसरी नै लोकबहादुरको पनि छोराको जन्म भयो ऊ पनि जन्मदै देखि आँखाले राम्रो नदेख्ने भएर । खुमबहादुर चपाङको अर्को छोरा जन्मे उसको पनि जन्मिदै आँखाको समस्या उस्तै । यसरी एउटै परिवारको तीनजना बालबालिकाहरुको आँखा नदेख्ने समस्याले परिवार नै विछिप्त बने । आर्थिक समस्याले ग्रस्त परिवारमा जन्मेकी दीपशिखाकी आमा बाल बच्चा छोडेर अन्तै घरजम गरिन् भने बुवाले पनि हेर्न र सिहार्न सकिनन् । मावली हजुरबा हजुरआमाको शरणमा दिन कटाउदै गरेकी १४ वर्षिय दीपशिखा र ५ वर्षीय कमल चेपाङको जिन्दगी रात दिन एकनास थियो । त्यस्तै उता लोकबहादुर चेपाङको ८ वर्षिय छोरा संगम चेपाईको दैनिकी पनि उस्तै अन्धकार थियो । नजिकै सरकारी विद्यालय भए पनि हिडडुल गर्न समस्या र पहाडी भूबनोटका कारण स्कुल जान पनि लगभग बन्द भएको थियो उनीहरुको ।

रातपछि दिन, दिनपछि रात त प्रकृतिको नियम नै हो । तर सधै दिनको उज्यालोको अनुभूतिमा रम्न नपाएका चेपाङ बालबालिकाको लागि एकदिन उज्यालो किरण भएर आयो । २०८० श्रावण १८ गते रोटरी क्लब र नेपाल आँखा अस्पतालको सहकार्य तथा लखन गाउँपालिका वडा नं. ४ को आयोजनामा नेपाल आँखा अस्पतालको उपाध्यक्ष (पूर्वउपरथी) तथा रोटरी क्लब अफ हिमालयन गल्फर्सका महासचिव श्री दमन बहादुर घलेको नेतृत्वमा नेपाल आँखा अस्पतालको प्राविधिक टोली ठेवाटार गोरखामा एकदिने आँखा शिविर संचालन गर्न पुग्यो र शिविरमा १३ जना मोतिबिन्दका बिरामीहरुका साथ दिपशिखा, संगम र कोमल चेपाङको आँखामा जन्मजात मोतिबिन्दु पााईएपछि उनिहरुलाई शल्यक्रियाका लागि नेपाल आँखा अस्पताल त्रिपरेश्वरमा ल्याउनका लागि सल्लाहनुसार स्थानीय आयोजकको सहयोगमा चेपाङ बालबालिकाहरुलाई नेपाल आँखा अस्पतालमा ल्यााई थप परिक्षण पश्चात अस्पतालका बरिष्ठ बाल नेत्ररोग बिषेशज्ञ डा.चन्द्रमाया गुरुङ्खले बालबालिकाहरुको तत्काल मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिईन । बालबालिकाहरुको परिवारको दयनिय अबस्था रहेकाले आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिने भएपछि उनिहरुका अभिभावकहरु ढुक्क भए ।

बाल नेत्ररोग विशेषज्ञ डा.चन्द्रमाया गुरुङले तीनैजना बालबालिकाहरुको आँखाको शल्यक्रिया गरिदिएपछि तीनैजना बालबालिकाले पुन उज्यालो संसार नियाल्न पाए र तीनैजनामा खुसीको सिमा रहेन । अव सजिलैसँग घरको काम गर्न सकिने र पुनः विद्यालय गएर पढ्ने कुरा हामीसँगको कुराकानीमा बताएका छन् ।


यो एउटा आँखाको प्रतिनिधि समस्या मात्रै हो । नेपालमा सेवाको पहुँचभन्दा बाहिर रहेका अझै धेरै समदायहरुका नागरिकहरु छन्, जो भौगोलिक बिकटता तथा आर्थिक अभावका कारण समयमा आँखा उपचार गर्न नसकेर अध्यारो जीवन विताउन बाध्य छन् । यस्ता पहुच भन्दा बाहिर रहेका नागरिकहरुका लागि नेपाल सरकारको आँखा स्वास्थ्य नीतिअनुसार दृष्टि सबैको अधिकार भन्ने भावना अनुसार आँखा स्वास्थ्य सेवा सबैका लागि बिस्तार गर्न आवस्यक देखिन्छ । त्यसका लागि आँखा स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत आँखा अस्पतालहरु, स्थानीय निकायहरु, बिभिन्न संस्थाहरु लगायत सबैले ध्यान दिनु पर्दछ भन्ने कुरा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको बाह्य कार्यक्रम संयोजक श्री राम के.सी.ले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर