आजदेखि हिम स्टार ऊर्जा कम्पनीको पहिलो चरणको आईपीओ बिक्री खुला
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आज (जेठ ३० गते) देखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात् १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार रुपियाँबराबरको ९ लाख ३२ हजार ५०० कित्तामध्ये ९३ हजार २५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमाओखलढुंगा जिल्ला, जिजिदेम्बा गाउँपालिका वडा नं ८ (साबिक भुसिंगा गाविसका सबै वडा) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ (साबिक गोली गाविस वडा नं. १, २, ३, ४, ५) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।
यता कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
प्रतिक्रियाहरू
Puspa Karki
10 months ago
How applay
Shares