एकै दिन तीन पालिकामा आठ घर गोठ जलेर नष्ट

माधव पोखरेल
प्रकाशित: १२ वैशाख २०८१
Image description

उदयपुर । उदयपुरको तनि पालिकामा एकैदिन आगलागी हुँदा ८ घरगोठ जलेर नष्ट भएको छ । उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिकाममा आइतबार आगलागी भएको थियो ।

पहाडी क्षेत्रमा पर्ने ताप्ली गाउँपालिका वडा नम्बर २ नारीमालामा आगलागीबाट तीनघर जलेर नष्ट भएको छ । आईतबार दिउँसो भएको आगलागीमा परी यामबहादुर मगर , उत्रबहादुर मगर र अम्बिरबहादुर मगरको घर जलेर नष्ट भएको हो ।

वडाध्यक्ष छत्रबहादुर श्रेष्ठका अनुसार घरमा कोही नभएका बेला आगलागी भएको हो । ‘आगलागीबाट घरहरु पूर्णरुपमा जलेका छन् , घरको सवै नगद , अन्नपात , कुखुरा , बाख्रा मरेका छन् ।’उनले भने , ‘घरमा कोही नभएको बेला एक्कासी आगो सल्किएको रहेछ ।’

दिउँसो सम्ममा स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् । ‘अम्बिरबहादुरको नगद १५ हजार , उत्रबहादुरको नगद ११ हजार , यामबहादुरको कुखुरा , बाख्रा सवै जले ।’वडाध्यक्ष श्रेष्ठले भने , ‘ कति जतिको क्षति भयो भन्ने कुरा यकिन भएको छैन् , बिवरणहरु संकलन गरिरहेका छौं ।’

स्थानीय थविन्द्र मगरका अनुसार खाना खाएर घरका मानिसहरु घाँस काट्न तथा अन्य काममा घरबाहिर गएका थिए । घरमा कोही नभएका समयमा अचानक उत्रबहादुर मगरको गोठबाट आगो सुरु भएको थियो ।

ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले आगलागी भएको पुष्टि गर्दै घटनास्थलमा प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी खटिएको बताए । उनका अनुसार स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट धेरै क्षति भएपनि कति क्षति भयो भन्ने बारे प्रहरीले तथ्यांक संकलन गरिरहेको उपरीक्षक राईले बताए ।

यसैगरी उदयपुरगढी गाउँपालिका ६ रातमाटेमा पनि आगलागि भएको छ । रातमाटेका निर् बहादुर कटुवालको इँटाको गाहरो भएको टिनको छाना भएको १ तले घरमा र गाई गोठमा घर र गोठ भित्र रहेको सामान सम्पूर्ण जलेर नष्ट भएको छ । गोठमा ३ थान बोका, ३ थान खसी रहेकोमा जलेर नष्ट भएको छ । कटुवालको करिब ८ लाख ६५ हजारको सम्पति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागिलाई स्थानीय तथा प्रहरीको सहयोगमा दुई घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसै गरी उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको वडा नं ५ को चमलाने गाउँ स्थित हुरुम्वा सामुदायिक वनमा लागेको डढेलो सल्किएर गाउँमा पस्दा सोही वडाका वाङसिं राईको ढुङ्गा माटोले बनेको फुसको घरमा आगो लाग्दा घरमा रहेको अन्नपात भाडा वर्तन लता कपडा सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरले दिएको जानकारी अनुसार राईको करिब ३ लाखको धनमाल जलेको छ ।

सोहीवडाकी लक्षी राईको माटो ढ्ङ्गाले बनेको फुसको छानो भएको दुईतले घरमा पनि आगो लागेका छ । आगो लागेर लक्षी राईको करिब २ लाख ५० हजारको क्षति भएको छ भने सोही ठाउँका कुमार राईको ढुङ्गा माटोले बनेको फुसको छानो भएको मतानमा आगलागी हुँदा मतानभित्र भएको अन्नपात, भाडा वर्तन समेत गरैर १ लाख बढकिो क्ष्ती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर