कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी करका दरमा हेरफेर हुँदैनः अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताएका छन्। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेकइन नेपाल समिट–२०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
उनले सरकारले बजेटमा राजस्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरिरहेको बताए। उनले राजस्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्व रहेकाले निजी क्षेत्रको मागलाई सकेसम्म सम्बोधन गर्ने बताए।
उनले आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नलाई कच्चा पदार्थ र तयारी वस्तुको दुई तहको भन्सार दर फरक बनाउने कुरामा सकारात्मक रहेको बताए। उनले विगतदेखि २० प्रतिशत महंगोमा पनि आन्तरिक(स्वदेशी)उत्पादन सरकारले खरिदमा गर्नुपर्ने नीतिगत सुधार गर्ने बताए।
अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई सरकारलाई आवश्यक वस्तु खरिद गर्नुपर्ने माग सकारात्मक रहेको बताए। उनले सरकारले नीतिमार्फत आगामी बजेटमा के सकिन्छ सकारात्मक रुपमा समेट्ने प्रतिबद्धता जनाए। उनले सरकारले वेव पोर्टल बनाएर स्वदेशी उत्पादन एकै ठाउँमा डिजिटल रुपमा हेर्नसक्ने प्रविधिमार्फत नेपाली उत्पादनलाई तीनै तहका सरकारले खरिद गर्ने व्यवस्था गरिने बताए। उनले बजार मूल्य भन्दा बढी भए पनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नु आवश्यक रहेको बताए। उनले आगामी वर्षको बजेट स्वदेशी घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने नीति र बजेटको व्यवस्था गरेर सरकारी कार्यालयमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्ने नीति अपनाउने बताए।
अर्थमन्त्री पुनले सरकारले आर्थिक अपराधलाई फौजदारी अपराधको रुपमा हेर्ने नीतिमा सुधार गर्ने बताए। उनले राजश्व, बैंकिङ लगायत अन्य आर्थिक अपराधलाई हेर्ने निकाय फरक–फरक रहेको भन्दै त्यही अनुसार हुनु आवश्यक रहेको बताए।
Shares