काठमाडौँ महानगरले आयोजना गरेको जलवायु सप्ताहमा के के हुदैछ ?

अर्थकागज
प्रकाशित: ०८ मंसिर २०८३
Image description

काठमाडौं । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जोखिम व्यवस्थापनका लागि आजदेखि सप्ताहव्यापी जलवायु सप्ताह सुरु गरेको छ । मंसिर १३ गतेसम्म सञ्चालन हुने सप्ताहमा सात दिन सात फरक विषयमा छलफल, अन्तरक्रिया तथा कार्यमूलक कार्यक्रम आयोजना गरिनेछ ।

सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था, प्राज्ञिक तथा अनुसन्धानकर्ता, बालबालिका, युवा, महिला र अभियानकर्मीलाई सहभागी गराएर कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ ।

पहिलो दिन : जलवायु गोलमेच र रिचार्ज काठमाडौँ अभियान । जलवायु सप्ताहको पहिलो दिन राष्ट्रिय सभागृहमा उद्घाटन कार्यक्रमसँगै ‘रिचार्ज काठमाडौँ’ अभियान शुभारम्भ गरिएको छ। पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद गर्ने उद्देश्यले जलवायु गोलमेच पनि आयोजना गरिएको छ । गोलमेचमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तन, सहरी उत्थानशीलता र साझा प्राथमिकताका विषयमा धारणा राखेका थिए ।

गोलमेचले तत्काल सामूहिक प्रयास गर्नुपर्ने पाँच प्रमुख विषय पहिचान गरेको छ । जसमा पानीको व्यवस्थापन, वित्तीय तथा मानवीय स्रोत र अधिकारको बाँडफाँड, समन्वय तथा सहकार्य, न्याय र सुनुवाइ तथा क्षतिपूर्ति र दीर्घकालीन योजनाका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता रहेका छन् । गोलमेचमा पानीको संकट हिमाल, पहाड, तराई, गाउँ र सहर सबै क्षेत्रमा चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि परम्परागत ज्ञान, सीप र आधुनिक प्रविधिको संयोजन आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

पहिलो दिन रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका अनुभवसमेत सुनाइएको थियो। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैलाश तामाङ र आमाछोदिङ्मा गाउँपालिकाका अध्यक्ष माचेङ तामाङले बाढीको प्रभाव र स्थानीय समुदायले भोग्नुपरेका समस्याबारे अनुभव सुनाएका थिए। कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ महानगरपालिकाले थालेको जलवायु अभियानले स्थानीय तहको नेतृत्वमा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने सन्देश दिएको बताएका थिए ।

बागती प्रदेशका मुख्यमन्त्री किरण थापाले पनि महानगरपालिकाले अघि सारेको साझा अभियानमा प्रदेश सरकारको साथ रहने बताएका थिए । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनको असरबाट कुनै पनि समुदाय अछुतो नरहने उल्लेख गर्दै विपद् व्यवस्थापनमा सबै तह र समुदायको साझा प्रयास आवश्यक रहेको बताएकी थिइन् ।

दोस्रो दिन : जलवायु वित्त । सप्ताहको दोस्रो दिन जलवायु वित्तका विषयमा केन्द्रित हुनेछ। जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन र जोखिम व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोतको परिचालन तथा व्यवस्थापनबारे छलफल गरिनेछ ।

तेस्रो दिन : नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तन । तेस्रो दिन नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम सञ्चालन हुनेछ । जलवायु परिवर्तनले सांस्कृतिक तथा प्राकृतिक सम्पदामा पार्ने प्रभाव र त्यसको संरक्षणका उपायबारे छलफल गरिनेछ ।

चौथो दिन : ऊर्जा प्रणाली र जलवायु परिवर्तन । चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनलाई मुख्य विषय बनाइनेछ। ऊर्जा उत्पादन, उपयोग तथा जलवायु अनुकूलनका विषयमा छलफल हुनेछ ।

पाँचौँ दिन : बालबालिका तथा युवा जलवायु कार्य दिवस । पाँचौँ दिन बालबालिका तथा युवालाई केन्द्रमा राखेर जलवायु कार्य दिवस मनाइनेछ । जलवायु परिवर्तनका चुनौतीबारे नयाँ पुस्ताको सहभागिता र भूमिकालाई प्राथमिकता दिइनेछ ।

छैटौँ दिन : खाद्य प्रणाली र जलवायु परिवर्तन । छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम हुनेछ । जलवायु परिवर्तनले कृषि, खाद्य उत्पादन तथा खाद्य सुरक्षामा पार्ने प्रभावबारे छलफल गरिनेछ ।

सातौँ दिन : नागरिक समाज तथा संस्थाहरूको दायित्व । सप्ताहको अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको भूमिका र दायित्वबारे छलफल गरिनेछ । खेलकुद र सार्वजनिक यातायातमार्फत पनि सचेतना । जलवायु सप्ताहका क्रममा छलफल र अन्तरक्रियासँगै सार्वजनिक सहभागितामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछन् । नेपाल प्रिमियर लिगसँगको जलवायु साझेदारीअन्तर्गत हरित रङ्गशाला, शून्य फोहरका खेल दिवस र खेलमार्फत जलवायु सचेतना अभिवृद्धि गर्ने कार्यक्रम राखिएको छ ।

त्यस्तै, साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोग बढाउने, नागरिक विज्ञान प्रवर्द्धन गर्ने तथा वायु प्रदूषण न्यूनीकरणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ । महानगरपालिकाले जलवायु सप्ताहलाई छलफलमा मात्र सीमित नराखी समुदायको सहभागितामा तत्काल कार्यान्वयन गर्न सकिने वैज्ञानिक तथा व्यावहारिक उपायको सुरुवात गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर