गण्डकीमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहँदा देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति देशको पहाडी भू-भागमा सामान्यतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ । साथै, यातायात तथा दैनिक जनजीवनमा पर्न सक्ने असरबारे चनाखो रहन पनि आग्रह गरिएको छ ।
Shares