१७ अर्ब ८६ करोड बराबरको अवैध वित्तिय कारोबार गर्ने २१ जना व्यक्तिहरु पक्राउ (नामावलीसहित)
काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको गरेका हुन् ।
उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणवापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा भन्सार छली, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छलीलगायतमा संलग्न व्यक्ति तथा समूहले कारोबार गरेको गैरकानुनी रकमलाई ट्रान्सफर गरेको उनले बताए ।
त्यसरी रकम ट्रान्सफर गरी विप्रेषणबापतको रकम हिसाब मिलान गरेको देखिएकाले मनी टान्सफर कम्पनी र त्यसका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरीत कार्य गरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरउपर अनुसन्धान थालिएको प्रवक्ता शाहीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसरी पक्राउ पर्नेहरुमा मोरङका वीरेन्द्र साह र दीपेन्द्र शाह, महोत्तरीका श्रवणकुमार शाह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महत्तो, धनुषाका निरोजकुमार महत्तो, सञ्जिवकुमार महतो र अलितादेवी महतो, प्रकाश सिंह, पर्साका अरुणकुमार साह, नवलपरासीका राजकमल लोनिया र भीमकुमारी गुरुङ रहेका छन् ।
त्यसैगरी सप्तरीका रामविलास साह तेली, पर्साका विकर्ष जङ्ग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमारी शाह, चितवनका गोविन्दप्रसाद आचार्य, सप्तरीका शम्भू मेहता र ममताकुमारी साह पनि पक्राउ परेका छन् ।
सिआइबीको विज्ञप्तिमा भनिएको छ ‘आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण वाफत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगाएतमा संलग्न रहेका व्यक्ति तथा समुहले अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनिहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको लागी Money Mule हरुलाई परिचालन गरी ठुलो परिमाणमा नगदै रकम खातामा Placement गरी सो रकमलाई बिभिन्न Remittance भुक्तानी गर्न अनुमती लिएका Money Transfer प्रा.लि. हरुले उक्त Digital wallet कम्पनिहरु मार्फत E- Money बनाई सो रकमलाई Remittance बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा Transfer Remittance बापतको रकम हिसाव मिलान (Settlement) गरेको देखिएकोले निम्न लिखित Money Transfer र त्यसको संचालक समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको छ ।’
Shares