धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति गठन, को बन्ला नयाँ अध्यक्ष ?
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौलालाई नियुक्त गरिएको छ । पुस २० गते तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले नेतृत्व विहीन छ ।
धितोपत्रबजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर, अध्यक्ष रिक्त भएको १५ दिनपछि मात्रै सरकारले सिफारिस समिति गठन गरेको हो ।
सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया थालेसंगै अहिले विभिन्न व्यक्तिहरु अध्यक्ष बन्ने कसरतमा विभिन्न शक्ति केन्द्रहरु धाउन थालेका छन् । हमालले सुरु गरेको नयाँ स्टक एक्सचेन्ज र कमोडिटि मार्केटको लाईसेन्स वितरण प्रक्रिया पुरा गराउनलाई पनि केहि समूहले आफु अनुकुल व्यक्तिलाई अध्यक्षमा ल्याउन कसरतरत छन् ।
Shares