अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी

अर्थकागज
प्रकाशित: १० कात्तिक २०८३
Image description

काठमाडौ । जेनजी मुभमेन्ट नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेको छ। मुभमेन्टले राजीनामा नदिए उनलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हो।

मुभमेन्टका तर्फबाट विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, कूटनीतिक मर्यादा र सार्वभौमसत्ताको गरिमामाथि प्रश्न उठाएको उल्लेख छ। अर्थमन्त्रीको जिम्मेवारी देशको अर्थतन्त्र सुदृढ बनाउनु भए पनि परराष्ट्र नीतिको गरिमामा आँच पुग्ने अभिव्यक्ति दिनु उचित नभएको वक्तव्यमा जनाइएको छ।

नेपाल–भारत सम्बन्ध समानता, पारस्परिक सम्मान र साझा हितमा आधारित हुनुपर्ने उल्लेख गर्दै मुभमेन्टले छिमेकी मुलुकसँगको मित्रता कायम राख्दा नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई कुनै पनि अवस्थामा सम्झौताको विषय बनाउन नहुने जनाएको छ।

वक्तव्यमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि खारेज गर्नुपर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका विवादित भूभागसम्बन्धी समस्या समाधान गर्नुपर्ने, सुस्तालगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्या अन्त्य गर्नुपर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका नाममा राखिएको भारतीय सुरक्षा उपस्थिति हटाउनुपर्ने मागसमेत उठाइएको छ। साथै, विगतमा नेपालले भोगेका नाकाबन्दी दोहोरिन नहुने मुभमेन्टको धारणा छ।

अर्थमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले दिएको सार्वजनिक अभिव्यक्तिबारे जवाफदेहिता आवश्यक रहेको भन्दै मुभमेन्टले सरकारसँग यस विषयमा स्पष्ट जवाफ माग गरेको छ।

‘राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुनै पद, व्यक्ति वा राजनीतिक स्वार्थ हुन सक्दैन,’ वक्तव्यमा भनिएको छ।

मुभमेन्टले अर्थमन्त्री वाग्लेलाई तत्काल राजीनामा दिन आग्रह गर्दै त्यसो नगरे सरकारले उनलाई बर्खास्त गर्नुपर्ने माग दोहोर्‍याएको छ। उक्त प्रेस वक्तव्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाली सेनाको मुख्यालयलाई समेत बोधार्थ पठाइएको जनाइएको छ।


 

प्रतिक्रियाहरू

सम्बन्धित खबर