बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी

अर्थकागज
प्रकाशित: २२ माघ २०८१
Image description

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी बढुवा भएका छन् । रिक्त पदमा बाँकी दुई प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी बढुवा भएका हुन् । बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक बन्न सुवेदीसँगै अन्य दुई निर्देशकहरु कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजुरमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो । सुवेदीको बढुवा सम्बन्धि सिफारिश प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेपछि उनको बढुवाले औपचारिकता प्राप्त गर्नेछ । पदपूर्ती समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका छन् । बीमा समिति कर्मचारी सेवा शर्त नियमावली २०६८ को विनियम बमोजिम संभाव्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन, जेष्ठता, शैक्षिक योग्यता, तालिमवापत प्राप्त गरेको कुल अङ्कको आधारमा सर्वाधिक अङ्क प्राप्त गरेकाले बढुवा सिफारिश सम्बन्धि सूचना प्रकाशन गरिएको पदपूर्ती समितिले जानकारी दिएको छ ।

पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । यसबाहेक उनी बीमा प्राधिकरणले सञ्चालन गर्दै आएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(आइआइएन)का समेत प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर