डा.शेखरकुमार श्रेष्ठको “मौन अक्षरका सुस्केरा” लघुकथा संग्रहमा के छ ?
यहाँ प्रत्येक अक्षरलाई आफ्नो अस्मिता जोगाई राख्न हम्मे परेको छ । किन भने अक्षरहरु जोडेर शब्द बन्छ तर शब्दको अर्थ अनेक लाग्ने गर्दछ । राम्रो शब्द बनेता आफूप्रति गर्व पनि लाग्दो हो अक्षरहरुलाई । यहाँ त राम्रो शब्द भन्दा नराम्रो शब्दले बढि चर्चा पाउने परिपाटीको विकास भएकोले मौन अक्षरहरुले पनि विद्रोहको सुस्केरा हाल्दा हुन् । यहीँ अक्षरहरुको सुस्केरालाई बुलन्द आवाज र प्रतिकारको दरिलो घुयेँत्रो बाँधेर साहित्यकार डा.शेखरकुमार श्रेष्ठले लघुकथा संग्रह ल्याएको छ । साहित्य रुपी पूmलबारीमा अनेक सौन्दर्य र सुगन्धित अत्तरहरु छरेर वातावरणलाई वास्नायुक्त बनाएर फुल्न सफल एक साहित्य साधकको हालै प्रकाशित कृती “मौन अक्षरका सुस्केरा” लघुकथा संग्रहको पुस्तक पढ्ने मौका पाएँ । काँडा विच फुल्ने गुलाफको सौन्दर्यता र हिलोमा फुल्ने कमलको कोमलताको बयान सायत जरुरी पर्दैन । त्यस्तै नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउदै आउनुभएका डा.शेखरकुमार श्रेष्ठको बारेमा बयान गरिरहनु पर्ला जस्तो लाग्दैन । काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका, वडा नं.३ निवासी डा.शेखरकुमार श्रेष्ठ साहित्यको माध्यमबाट काठमाडौंको दक्षिणी भूभागलाई साहित्यिक सुगन्ध छर्न सफल साहित्यकार हुन् । डा.श्रेष्ठको “सगरपुर, पूर्णिमाको राती, सिद्घिचरणका खण्डकाव्यमा क्रान्तिचेत, धन्यवादका पात्र, कमिलाको जन्ती, हिमाल मुन्तिर, मृत्यु उत्सव होस्, छाता, बोकाको खुशि, गाँठो जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन् । नेपाली भाषा साहित्यलाई अझ उचाईमा पु¥याउन रातदिन साधनारत डा.श्रेष्ठ त्यो नक्षेत्र हुन् जो साहित्यको माध्यमबाट आफ्नो जन्मलाई साहित्यिक सार्थकताको शिखरतिर लम्काईरहेका छन् ।
डा.शेखरकुमार श्रेष्ठको पछिल्लो कृती “मौन अक्षरका सुस्केरा” लघुकथा संग्रहको पुस्तकको पानाहरु पल्टाउँदै गर्दा केही घतलाग्दा विषय वस्तुहरु टिपोट गर्ने इच्छा जाग्यो र केही टिप्दै जाने क्रममा केही पानाहरु भर्न पनि पुगेछन् । सोही पानामा भर्न पुगेका केही शब्दहरुको जोडजाड गरी यो आलेख तयार गर्दै छु । डा.श्रेष्ठ साहित्य लेखन विधामा एक स्थापित नाम हो । डा.शेखरकुमार श्रेष्ठले नेपाली साहित्यमा विध्यावारिधि उपाधि हाँसिल गर्नु भएको छ । विभिन्न साहित्यिक तथा सामाजिक संघ÷संस्थाहरूमा आवद्घ रहेर नेपाली साहित्य तथा भाषा वाङमयमा अक्षुन्न योगदान पु¥याउँदै आउनुभएको श्रेष्ठले थुप्रै साहित्यिक पुस्तकहरू प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान गर्नुभएको छ । श्रेष्ठको भर्खरै प्रकाशित लघुकथा संग्रह “मौन अक्षरका सुस्केरा” पन्ध्रौं कृति हुन् । उहाँको सयौंको संख्यामा विभिन्न पत्रपत्रिका तथा जर्नलहरूमा लेख रचना तथा साहित्यिक सिर्जनाहरु प्रकाशित छन् । काल्पनिक शक्ति, यथार्त परक प्रस्तुती र भाषागत सरलता, मिलनसार तथा मृदुभाषी जस्ता गुण र बौद्धिक लेखन शिल्पीले कृतिलाई ससक्ता तुल्याएका छन् । समयको अन्तरालमा मान्छेको भोगाई, राजनीति र त्यसले पारेको प्रभावले समाज झनै आक्रान्त बन्दै गएको पीडा, शोक, भोक र सबै थोकबाट ग्रसित मानसिकतामा आएको आबेगहरु कथाको रुपमा कागजमा उत्रेको साहित्यकारको सरल भाषा, गहन विषयको चिन्तन र भावनात्मक गहिराईले कृति ओजस्वी बन्न पुगेको छ ।
साहित्यमा रुचि भएका पाठकहरुदेखि साहित्यमा बामे सार्दै गरेका थुप्रै साहित्य अनुरागीहरुको गुरु, पदप्रदर्शक, प्रेरणाका स्रोत रहेका श्रेष्ठ काठमाडौंको दक्षिणी भेगलाई साहित्यिक फूलबारी बनाउन सबैलाई अभिप्रेरित गर्नुहुन्छ । स्वभावले अत्यन्त मिलनसार एवं सौम्य ब्यक्तित्वका धनी श्रेष्ठको यो कृतिमाथिको टिप्पनी कुनै पुस्तक समिक्षा वा पुस्तक चर्चा परिचर्चा होइन, मात्र जिम्मेवार पाठकको दायित्व हो कि पुस्तक हेरेको छु भन्ने । पुस्तकमा संग्रहित प्रत्येक कथाको विषय, सरल भाषाशैली, बेजोड कल्पनाशीलताले कृतिलाई कृतित्व बनाइएका छन् ।
श्रेष्ठको “मौन अक्षरका सुस्केरा” लघुकथा संग्रहमा संग्रहीत पहिलो कथा वरदानले राजनीतिक पृष्ठपोषणको वर्तमान परिदृश्य उजागर गरेको छ । क्षमतावानलाई भन्दा चाकडी र चाप्लुसी वादमाथि ब्यंग्य हानेको कथा हो वरदान । त्यस्तै म कथा राष्ट्रियताले भरिएको छ । परनिर्भरताले जर्जर भएको शरीर तर आत्मामा देशभक्ति भएका स्वजनको बेदना पाइन्छ यो कथामा । संसारमा आफ्नो अस्तित्व राखिराख्न भौतिक शरिर अपरिहार्य तत्व हो । भौतिक शरीर नै रहेन भने प्राकृतिक सुन्दरताको के अर्थ ? त्यसैले आत्मा प्रकृतिसँग होइन, भौतिक दुनियासँग नजिक भएर हेर्न सके आफूलाई फूल जस्तै सुन्दर देखिन्छ भन्ने भाव बोकेको कथा हो भौतिक दुनिया ।
भगवान छ भन्ने ससक्त उदाहरण बोकेको अर्को कथा हो ईश्वर । अरूको कुभलो गर्नु हुन्न, पाप र धर्मको फल परलोकमा होइन, यसै लोकमा त्यो पनि छिट्टै देखाउँछ भन्ने ज्वलन्त उदाहरण यो कथाले दिएको छ । प्रकृतिमाथि विजयी हुने होड्ले मानिस अनेक प्राकृतिक विपत्तिमा फसेका छन् । रोग, शोक र भोकको भुमरीमा मानिस दिनप्रतिदिन भासिदै गल्दै र जल्दैछन् । प्रकृतिलाई जोगाउनुपर्छ, होइन भने एकदिन सबै भष्म हुन सक्छ भन्ने चेतना युक्त कथा हो चेतनाको खोज ।
सङ्घर्ष, अपजसको भाँडो कथामा सम्रग समाजको सामाजिक चरित्र उतारेको छ । त्यस्तै चट्याङ कथाले सडकदेखि सदनसम्मको राजनीतिक प्रवृद्धि र गरी खानुभन्दा लुटी खानुमा सजिलो ठान्ने प्रवृद्धिको ओकालत गरेको छ । विज्ञान र प्रविधिले मान्छेलाई चेतना र संस्कार विहिन बनाउँदै छन् । भौतिक वादले भावनात्मकत्वलाई थिचेर संस्कार पेलिँदै र निचोरिँदै गएको प्रति चिन्चित हुँदै लेखिएको कथा हो दोस्रो पुस्ता । भूईँको टिप्न खोज्दा हातको गुम्यो भने झैँ एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने र समयको महत्व बुज्न नसकदा सम्रग उपलब्धि खेर जाने वर्तमान राजनीतिक खिचातानीप्रति व्यंग्य हानेको कथा हो आन्दोलन । सम्मानको मूल्य कथाले मरेपछि गरिएको कुनै सम्मानको मूल्य रहँदैन । समय छँदै गरेको सम्मानको मात्रै कदर हुन्छ, नत्र त्यो कागजी खोष्टा मात्रै हो भन्ने भाव बोकेको छ । बुबा कथाहरुले बाहुनुको कर्तव्य र जिम्मेवारीको बोध गराउँछ । कानुनले शत्यको आधारमा होइन, तथ्यको आधारमा न्याय दिन्छ अर्थात कानुन अन्धो हुन्छ र जता बाहुल्यता हुन्छ, कानुनको तराजु त्यतै ढल्किन्छ भन्ने सशक्त उदाहरण बोकेको कथा हो कानुन । देशप्रतिको माया, आफ्नो धर्म, कला संस्कृतिप्रतिको गर्वानुभूति सबै नागरिकमा हुनुपर्छ भन्ने नैतिक शत्य मेरो देश कथाले बोलेको छ । तातै खाउँ, जल्दै मरौं भन्ने सोचले देशको विकास हुँदैन, देश विकासको लागि आफ्नो ठाउँबाट सकेको योगदान गर्नुपर्ने सन्देश विद्रोही सोचमा छ । खाना कथाले आम गरिब नेपालीको विवसताको चित्रण गरेको पाइन्छ । प्रेरणा कथामा वर्तमान समाजको यथार्त भोगाई छ । आएको मौका गुमाउनु हुन्न नत्र पछुताउनु पर्छ, जनतालाई भाशन र आश्वासन मात्रै बाँढ्ने चुनावी कार्यक्रम, नेता खराब होइन, भोट हाल्ने जनता पैसामा विकेका कारण देश विक्रेको तितो यथार्त पोखेको उज्यालो, भोट बेचेपछि, बुझ्नु न सुझ्नु वनतिर कुद्नुको कारणले गाउँको विकास त परको कुरा मर्दा मलामी नहुने अवस्थाको यथार्त बोकेको कथा हाम्रो बस्ती, प्रतिनिधी मान्छे, देशको माया, हतियार, सडकको समृद्धि, नेता, समाजसेवा, कोट, शान्ति प्रक्रियामा, निद्रा, लाश, मुसाको दुलो आदि यर्थातता र क्रान्ति चेत भएका सामाजिक कथाहरु हुन् । यी कथाहरु भ्रष्टाचार विरुद्घको क्रन्दन, रोग, शोक र भोकमा पनि भ्रष्टाचार गर्ने भ्रष्टाचारी राजनीतिक कर्मीहरुको दुश्कर्महरुले निम्त्याइएका दुश्परिणामहरु विरुधको क्रान्किारी आवाजहरु हुन् ।
नुनको सोझो, गुरुको शिक्षा, पैसा, सहयोग, सद्भाव, चित्र, भाग्यको खेल, वर्तमान प्रेम, माया, गुरु, धर्ती, चाहना, उत्तर, प्राकृतिक नियम, भीष्मप्रतिज्ञा, स्वमूल्याङ्मन, हृदय आदि कथाहरुले मान्छेका अहंकार, घमण्ड, प्रेम, समर्पन, समर्थन, विश्वास, आस्था, आदर–सत्कार, दया–माया, क्रन्दन तथा रोदन, नैतिकता जस्ता सामाजिक चेतनाको सन्देश बोकेका छन् । साहित्यकार डा.शेखरकुमार श्रेष्ठका यी कथाहरु वर्तमान समाजका आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, नैतिक, न्यायिक सबै पक्षबाट मान्छेको दैनिक ब्यवहारमा परेका सकरात्मक र नकरात्मक असरहरुको प्रतिविम्ब हुन् भन्दा फरक नपर्ला ।
डा.श्रेष्ठको लघुकथाका यी कृतिले श्रेष्ठको बौद्घिक क्षमता, कल्पनाशिलताको परिचय मात्र होइन नेपाली साहित्यको श्रीवृद्घिमा उनले देखाएको बाटोमा हिड्ने आम साहित्य अनुरागीहरुलाई र आम पाठकलाई बौद्धिक खुराक दिने पक्का छ । लघुकथा मेरो विधा होइन, प्राविधिक हिसावले लघुकथा लेख्न म जान्दिनँ पनि । तर श्रेष्ठको “मौन अक्षरका सुस्केरा” कृति पढेपछि लघुकथा लेखन गम्भीर विषय र मुक्तकले जसरी एउटै घटना र उठानले ठूलो झट्का दिने पूर्ण कथा बन्दोरहेछ भन्ने ज्ञान म जस्ता सिकारु लेखकलाई प्राप्त हुनुले पनि लेखक धन्यवादको पात्र हुनुहुन्छ । कथाका पात्रहरु निर्वल, निरिहा, निर्दोष र यर्थात धरातलबाट उठाईएका छन् ता पनि भविष्यप्रति आशावादी, उज्ज्वल भविष्यप्रति इमान्दार देखिन्छन् । साहित्यको माध्यमबाट आफ्नो धर्म, कला, संस्कृती, वातावरण, आफू जन्मेको स्थानको महत्वलाई सरल, सरश ढंगले उठान गरी यसको संरक्षण, संवद्र्धन गर्नु हाम्रो आफ्नै कर्तव्य र दायित्व हो भन्ने नितान्त मानवीय चेत लेखकको विशेषता नै देखिन्छ । ६१ वटा लघुकथाहरु संग्रहित पुस्तकको आवरण चित्र र लेआउटको हिसावले पनि कृतिको नामसँग सामिप्यता गाँसेको छ । समयको अन्तरालमा उठेको मनको रतङ्गलाई समेटेर लघुकथाको रुपमा पाठक समक्षा ल्याउनु भै नेपाली साहित्यको श्रीवृतिमा ठूलो योगदान पु¥याउनु भएकोमा साहित्यकार डा.शेखरकुमार श्रेष्ठलाई सादुवाद ।
अन्त्यमा, यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन चहान्छु । साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना ।
धन्यवाद ।
पुस्तक परिचय
लेखक: डा.शेखरकुमार श्रेष्ठ,
पुस्तकको नाम : मौन अक्षरका सुस्केरा
विधा : लघुकथा
प्रकाशक : हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौं
वितरक : अक्षरधाम प्रकाशन प्रा.लि.
आवरण चित्र : नीरबहादुर याक्खा
डिजाईन : रमेश महर्जन
प्रकाशन वर्ष : विसं २०८१,
मूल्य : रु.२००।–
सम्पर्क नं. : ९८५११५७१९३
तामाङ कवि तथा गीतकार हुन् ।
प्रतिक्रियाहरू
शेखरकुमार श्रेष्ठ
1 year ago
हार्दिक आभार चन्द्र सर अनि अर्थ आवाज परिवार
Shares