भुक्तानी नपाउँदा दुई सय बढी आयोजनाहरू समस्याग्रस्त
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कार्यको भुक्तानी नदिँदा अहिलेसम्म दुई सय बढी आयोजनाहरू समस्याग्रस्त भएको बताएको छ । शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलामा महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नदिँदा २ सय भन्दा बढी आयोजना समस्याग्रस्त भएको बताएका हुन् । आगामी असार मसान्तसम्म एक हजार पाँच सय बढी निर्माण ठेक्काहरू समस्याग्रस्त हुने स्थिति रहेको उनले जिकिर गरे । सिंहले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भए पनि सरकारले नदिएको, गत वर्षकै पूरा भुक्तानी नपाएको गुनासो गरे । उनले भने,‘ यो वर्ष गर्नु पर्ने भुक्तानीहरूको विनियोजित बजेट पनि विनियोजन नहुँदा निर्माण क्षेत्र थप अस्तव्यस्त भएको छ ।’ लामो समयदेखि पटकपटक सरकारका प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँगको भेटमा भुक्तानी हुने बताउँदै आएको भए पनि समस्या समाधान नभएकोमा निर्माण व्यवसायीको गुनासो छ । निर्माण उद्योगमा भएको सकसका विषयमा जानकारी गराउँदा गराउँदै सरकार अहिलेसम्म काम गर्ने समयमा पनि गत वर्षकै भुक्तानी पूर्ण रूपमा गर्न अक्षम भएको महासंघको गुनासो छ ।
Shares