नेपालको मौसममा रेमल चक्रवातको असर, यी स्थानामा हावाहुरीसहित वर्षाको सम्भावना

अर्थकागज
प्रकाशित: १३ जेठ २०८१
Image description

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू—भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण अहिले बिहान कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर