आँखा स्वास्थ्यमा महिला नेतृत्वः अन्धकारमा ज्योति बाल्ने संघर्ष र सफलता

अर्थकागज
प्रकाशित: २३ फागुन २०८२
Image description

काठमाडौँ,: नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलाहरुमा १.३ प्रतिशत गुणाले अन्धोपना हुन सक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुख्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलाहरुमा आँखा समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच निकै कम छ ।

अनुसन्धानका नतिजाले भन्छ “विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषका तुलनामा महिलामा अन्धोपनको समस्या बढी छ । नेपालमा ४० हजार बढी दृष्टिविहीन रहेकामा झन्डै ६० प्रतिशत महिला रहेका छन् ।”

दृष्टि क्षमता कम भएका मानिसहरुमध्ये आधाभन्दा बढी महिला नै छन् । आँखा स्वास्थ्यमा महिलाको पहुँच नहुनुमा गरिबी, जनचेतनाको कमी, यातायातको असुबिधा, निर्णय लिन नसक्नु, पारिवारिक जिम्मेवारी बढी, आर्थिक परनिर्भरता हुनु आदि रहेको बताइन्छ ।

अन्धकारमा ज्योती बाल्ने प्रेरणादायी अब्बल महिला नेतृत्व र नेत्र चिकित्सक

स्वास्थ्य क्षेत्र विशेषगरी आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन न्यूनीकरणमा महिलाले नेतृत्व तहमा पुगेर उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित विभिन्न आँखा अस्पतालमा कार्यरत महिला ‘चिफ मेडिकल डाइरेक्टर’, ‘मेडिकल डाइरेक्टर’ तथा अस्पताल व्यवस्थापन समितिका महिला अध्यक्षले संस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह, जनशक्ति उत्पादन र समुदायमा पहुँच विस्तारमा प्रेरणादायी भूमिका निर्वाह गरिरहेका छन् ।

मञ्जु कण्डेल, (अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा.विनोद निता कण्डेल आँखा अस्पताल)


समाजसेवी कण्डेल नेपालमा सामुदायिक आँखा स्वास्थ्य सेवा र अन्धोपन न्यूनीकरण अभियानमा अब्बल महिला नेतृत्वका रूपमा परिचित हुनुहुन्छ । हाल नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यसमितीकी सहकोषाध्यक्ष समेत रहनु भएकी उहाँले २०६३ कार्तिक १४ गतेदेखि नेपाल नेत्रज्योति संघ डा.विनोद निता कण्डेल आँखा अस्पतालको अस्पताल व्यवस्थापन समितिको अध्यक्षका रूपमा निरन्तर नेतृत्वमा रहँदै संस्थागत सुदृढीकरण, सेवा विस्तार र गुणस्तरीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।


उहाँले अन्धोपन न्यूनीकरण, निःशुल्क आँखा शिविर सञ्चालन, समुदाय–केन्द्रित सचेतना कार्यक्रम विस्तार तथा ग्रामीण क्षेत्रमा सेवा पहुँच अभिवृद्धिमा नेतृत्वदायी योगदान पु¥याउनुभएको छ । उहाँको कार्यकालमा अस्पताललाई प्राथमिक आँखा उपचार केन्द्रबाट स्तरोन्नति गरी सेकेण्डरी लेभल अस्पतालमा रूपान्तरण गरिएको छ । अध्यक्ष कण्डेल भन्नुहुन्छ “ अस्पतालमा रेटिना सब–स्पेशालिटी र फेको प्रविधिबाट शल्यक्रिया सेवा । सुरुआत भएको छ । ”


उहाँ भन्नुहुन्छ “सबै महिला र बालिकाकालागि समानता, सम्मान तथा सुरक्षित वातावरण सुनिश्चित गर्दै सशक्त महिलामार्फत स्वस्थ र समृद्ध समाज निर्माणमा अस्पताल व्यवस्थापन समिति तथा सम्पूर्ण अस्पताल परिवार सदैव प्रतिबद्ध रहनेछ ।” दूरदृष्टि, प्रतिबद्धता र सेवाभावका साथ नेतृत्व गर्दै उहाँले आँखा स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गर्नुका साथै अन्धोपन न्यूनीकरण अभियानलाई नयाँ उचाइमा पु¥याउन कण्डलले महत्वपूर्ण योगदान दिनुभएको छ ।


प्राडा. सबिना श्रेष्ठ (अस्पताल व्यवस्थापन समिति अध्यक्ष, कीर्तिपुर आँखा अस्पताल )

प्राडा श्रेष्ठ वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा बाल नेत्र रोग क्षेत्रमा विशिष्ट दक्षता हाँसिल गरेकी चिकित्सक हुनुहुन्छ । नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्षका रूपमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अस्पताल व्यवस्थापन, संस्थागत सुदृढीकरण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहनुभएको छ ।

बंगलादेशबाट ‘एमबीबीएस’को अध्यययन गर्नुभएका प्राडा श्रेष्ठले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्र रोग विषयमा ‘एमडी’ तह पूरा गर्नुभएको हो । साथै बाल नेत्र रोगसम्बन्धी ‘फेलोशिप’ भारतको ‘भेन्यु आई इन्सच्यूट एण्ड रिसर्च सेन्टर’बाट हाँसिल गर्नुभएको छ । उहाँको नेतृत्वमा कीर्तिपुर आँखा अस्पतालले गुणस्तरीय तथा पहुँचयोग्य आँखा सेवा प्रवाहलाई प्राथमिकता दिँदै समुदायमुखी कार्यक्रम विस्तार गरेको छ ।

आँखा सेवा कार्यक्रम, आँखा शिविर, जनचेतना अभियान तथा सामुदायिक पहुँच विस्तारमा उहाँको सक्रिय सहभागिताले ग्रामीण तथा दुर्गम क्षेत्रमा आँखाको उपचार सेवा पुग्न सहयोग पु¥याएको छ । उहाँ भन्नुहुन्छ “बाल नेत्र रोग तथा दृष्टि दोषसम्बन्धी समयमै पहिचान र उपचारको पहुँचमा ल्याउनुपर्छ । यसका लागि समुदाय तथा विद्यालयमा आँखा जाँचलाई थप विस्तार गरिनुपर्छ ।”

सन् २०२५ मा नेपाल नेपाल अप्थाल्मिक सोसाईटीद्वारा प्रदान गरिएको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान उहाँले प्राप्त गर्नुभएको छ । चिकित्सा सेवासँगै साहित्य, चित्रकला र संगीतमा सक्रिय रहँदै आउनुभएका उहाँ भन्नुहुन्छ “महिला शक्ति परिवर्तनको आधार हो । घर, कार्यस्थल र समाजमा हाम्रो समर्पण र नेतृत्वले नै उज्यालो भविष्य निर्माण गर्दछ । महिलाले अधिकारकालागि लड्नुभन्दा आफ्नो कार्यदक्षताबाट नै आफुलाई अगाडी बढाउनु पर्दछ, आउनुहोस् आत्मविश्वास र सहकार्यका साथ अघि बढौँ, दिएरै प्राप्त गर्ने सफलताको यात्रामा । ” समर्पण, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले प्राडा श्रेष्ठलाई नेपालमा अन्धोपन न्यूनिकरण अभियान र महिला नेतृत्वको सशक्त उदाहरणका रूपमा स्थापित गरेको छ ।

डा सुलक्ष्मी कटुवाल (चिफ मेडिकल डाईरेक्टर, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज)

डा कटुवाल आँखा स्वास्थ्य सेवा क्षेत्रमा अब्बल नेत्र रोग विशेषज्ञका रुपमा स्थापित हुनुहुन्छ । उहाँका अनुसा हालसम्म वहाँले करिब १ लाखभन्दा बढी शल्यक्रिया गरिसक्नु भएको छ । जसमा करिब ९१ हजार ‘एसआईसीएस’, ५ हजार ‘फेको’, १ हजार ‘अकुलोप्लास्टी’ तथा ३ हजार अन्य समावेश छन् । साथै उहाँले करिब १० लाखभन्दा बढी आँखा बिरामीलाई बहिरङ्ग (ओपीडी)सेवा प्रदान गरिसक्नुभएको छ ।

दुर्गम तथा पहुँचबाहिरका समुदायमा अन्धोपन न्यूनीकरणका लागि विभिन्न शल्य शिविरहरूमा ‘टिम लिडर’का रूपमा सक्रिय सहभागिता जनाउँदै आउनुभएकी उहाँले अस्पतालको विकास र व्यवस्थापनका विभिन्न चरणहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ,“२१औँ शताब्दी महिला सशक्तिकरणको युग हो । आज महिलाले गर्न नसक्ने कुनै क्षेत्र छैन । परिवार र समाजको विकासका लागि महिला सशक्तिकरण अपरिहार्य छ । समाजमा परिवारको साथ र समझदारीले मात्र महिला सशक्तीकरणलाई सुदृढ बनाउन सक्छ । महिला शक्तिलाई कहिल्यै पनि कम आँक्न सकिँदैन । ”

सन् १९९९ मा रुसको ट्भेर स्टेट मेडिकल युनिभर्सिटीबाट ‘एमबीबीएस’ अध्ययन पश्चात उहाँले सन् २००७ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्र रोग विषयमा एमडी उपाधि हाँसिल गर्नुभएको थियो । सन् २०११ मा भारतको कोयम्बटोरमा फेको–इमल्सिफिकेशन तालिम तथा सन् २०१४ मा तिलगंगा आँखा प्रतिष्ठानबाट अकुलोप्लास्टी फेलोशिप पूरा गर्नुभएको छ । सन् २००७ मा राप्ति आँखा अस्पतालमा नेत्र रोग विशेषज्ञका रूपमा सेवा सुरुआत गर्नुभएकी डा कटुवालले ‘डेपुटी मेडिकल डाईरेक्टर’, ‘मेडिकल डाईरेक्टर’ हुँदै सन् २०१५ देखि ‘चिफ मेडिकल डाईरेक्टर’को जिम्मेवारी सम्हालिरहनुुभएको छ ।

प्राडा. सुशीला पटेल चौधरी ( चिफ मेडिकल डाईरेक्टर, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान)

नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानकी चिफ मेडिकल डाईरेक्टर प्राडा. सुशीला पटेल चौधरी वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा कोर्निया रोग उपचारमा चिकित्सक हुनुहुन्छ ।

उहाँले हालसम्म ४० हजारभन्दा बढी आँखाका बिरामीहरुको शल्यक्रिया गरी सक्नु भएको छ भने करिब दुई लाख बिरामीलाई उपचार सेवा प्रदान गरिसक्नु भएको छ । अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा १८ वैज्ञानिक लेख प्रकाशित समेत गरिसक्नु भएको छ ।

सन् २०२४ मा बंगलादेशमा भएको विद्रोह क्रममा आँखामा चोटपटक लागेका बिरामीहरूको उपचार समेत उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । उहाँ भन्नुहुन्छ “चुनौतीपूर्ण र संवेदनशील परिस्थितिमा समेत मैले उच्च व्यावसायिक दक्षता, संयमता र मानवीय समर्पणका साथ बंगलादेशमै गई आँखा उपचार सेवा प्रदान गरँे । ”

अस्पताल व्यवस्थापन, गुणस्तरीय शल्यक्रिया सेवा, जनशक्ति उत्पादन तथा ग्रामीण क्षेत्रमा शल्यक्रिया शिविर सञ्चालनमार्फत समुदायमा पु¥याएको योगदानले उहाँलाई एक सक्षम महिला नेतृत्वको रुपमा स्थापित गरिसकेको छ । “महिलाहरूले कार्यस्थल, घरपरिवार तथा समुदाय—सबै क्षेत्रमा पूर्ण समर्पण र अथक परिश्रमका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्” प्राडा चौधरी भन्नुहुन्छ “विभिन्न चुनौती र कठिनाइहरूको सामना गर्दै निरन्तर मेहनत र दृढताका साथ अघि बढ्दा महिलाहरूले आज कार्यस्थलमा मात्र होइन, घर र समाजमा पनि सम्मानित र प्रतिष्ठित स्थान हाँसिल गर्न सफल भएका छन् । महिलाको शक्ति उनको सहनशीलता, प्रतिबद्धता र निरन्तर प्रयासमा निहित छ ।”

डा चौधरीले एमबीबीएस भारतको किङ जर्ज मेडिकल कलेज, लखनउबाट र एमडी (नेत्र रोग) विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट सम्पन्न गर्नुभएको हो । कोर्निया तथा बाह्य रोगसम्बन्धी विशिष्ट फेलोशिप तालिम अरबिन्द आईकेयर सिस्टम र ऋबकभथ आई इन्सिच्युटबाट हाँसिल गर्नुभएको हो ।

हाल लुम्बिन नेत्रविज्ञान अध्ययन संस्थानमा ‘चिफ मेडिकल डाईरेक्टर’का रुपमा कार्यरत उहाँले पाँच वर्षभन्दा बढि संस्थानको शैक्षिक कार्यक्रम निर्देशकका रुपमा नेपालको आँखा उपचार जनशक्तिको उत्पादनमा महत्वपूर्ण योगदान समेत पु¥याउनु भएको छ ।

डा. बबिता गुरुङ (मेडिकल डाइरेक्टर, हिमालय आँखा अस्पताल)

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल, पोखराकी ‘मेडिकल डाइरेक्टर’ डा बबिता गुरुङ अनुभवी नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । उहाँले हालसम्म करिब १७ हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरिसक्नु भएको छ भने करिब १ लाख ५३ हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गर्नुभएको छ । विभिन्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई तालिम तथा मार्गदर्शन प्रदान गर्नुका साथै विभिन्न आँखाका शल्यक्रिया शिविर मार्फत समेत सेवा प्रवाह गर्दै आउनुभएको छ ।

अस्पताल व्यवस्थापन, गुणस्तरीय आँखा उपचार सेवा, जनशक्ति उत्पादन तथा ग्रामीण क्षेत्रमा शल्यक्रिया शिविर सञ्चालनमार्फत समुदायमा पु¥याएको योगदानले नेत्र विशेषज्ञ डा गुरुङलाई एक अब्बल महिला नेतृत्वका रूपमा स्थापित गरिसकेको छ ।

अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा विभिन्न अनुसन्धानात्मक लेखहरू प्रकाशन समेत गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “महिलाहरुमा समय, स्रोत, मार्गदर्शन र लगानी गर्नु घाटा होइन, समग्र समाजका लागि लाभ हो । समान अधिकार सुनिश्चित गर्दै लैंगिक हिंसा अन्त्य, शिक्षा र आर्थिक अवसरमा समान पहुँच स्थापना गर्नु आजको आवश्यकता हो । न्यायपूर्ण समाज निर्माणमार्फत नै सबैका लागि प्रगति र समृद्धि सम्भव छ ।”

नेत्र विशेषज्ञ डा गुरुङले सन् २००१ मा बंगलादेशको युएसटिसीबाट ‘एमबीबीएस’ उपाधि हासिल गर्नुभएको हो भने सन् २००९ मा त्रिभुवन विश्वविद्यालय, बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, काठमाडौंबाट ‘एमडी’ (नेत्र रोग) अध्ययन सम्पन्न गर्नुभएको थियो भने सन् २०१५ अप्रिलदेखि जुलाईसम्म तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंमा कोर्निया तथा केराटोप्लास्टीसम्बन्धी फेलोशिप तालिम समेत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँ सन् २०२२ देखि पोखरा विश्वविद्यालयको सह–प्राध्यापकका रुपमा समेत कार्यरत हुनुहुन्छ ।

सन् २००९ देखि हिमालय आँखा अस्पताल, पोखरामा कार्यरत रहँदै आउनुभएको छ । आकस्मिक सेवा तथा शल्यक्रिया शिविर व्यवस्थापन विभाग प्रमुख, डेपुटी मेडिकल डाइरेक्टर हुँदै वहाँले ६ फेब्रुअरी २०२५ देखि ‘मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हाल्नुभएको हो ।

डा.पुष्पा गिरी (चिफ मेडिकल डाईरेक्टर भरतपुर आँखा अस्पताल)

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालकी ‘चिफ मेडिकल डाइरेक्टर’ ‘एसोसिएट प्रोफेसर’ डा. पुष्पा गिरी नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । उहाँले हालसम्म २० हजारभन्दा बढी दृष्टि पुनःस्थापना गर्ने शल्यक्रिया सम्पन्न गर्नुभएको छ भने एक लाखभन्दा बढी बिरामीलाई बहिरङ (ओपिडी) सेवा प्रदान गरिसक्नु भएको छ । एकसय भन्दा बढी शल्यक्रिया शिविर सञ्चालन तथा सहभागिता मार्फत पाँच हजारभन्दा बढी ग्रामीण बासिन्दालाई दृष्टि प्रदान गर्नुका साथै हजारौं बिरामीलाई उपचार सेवा उपलब्ध गराईसक्नु भएको छ ।

आँखा उपचार सेवाका साथै उहाँ अनुसन्धान क्षेत्रमा समेत सक्रिय रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा मधुमेहजन्य ‘रेटिनोप्याथी’, ‘कोर्निया रोग’, ‘रिफ्र्याक्टिभ सर्जरी’, ‘क्याटर्याक्ट सर्जरी’ परिणामलगायत विषयमा विभिन्न शोधपत्रहरु समेत प्रकाशन गरिसक्नुभएको छ ।

उहाँका नेतृत्वमा अस्पतालले क्लिनिकल सेवा सुदृढीकरण, पहुँच कार्यक्रम विस्तार तथा दुर्गम क्षेत्रमा सेवा विस्तारमा उल्लेखनीय प्रगति हाँसिल गरेको छ । साथै उहाँले कम्बोडियामा समेत आँखा स्वास्थ्य क्षमता अभिवृद्धिमा योगदान पु¥याउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “स्वास्थ्य क्षेत्रमा कार्यरत महिलाहरू केवल सेवा प्रदता मात्र होइनन्, परिवर्तनका संवाहक पनि हुन् । जब महिलाहरुलाई सशक्त बनाउँछौं, राष्ट्र नै सशक्त बन्छ । स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन संघर्षरत महिलाको शक्ति, धैर्यता र करुणाको सम्मान गर्दछु ।”

उहाँले १४ मे २०२४ देखि सो अस्पतालको ‘चिफ मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हाल्दै आउनुभएका डा गिरीले सन् २००६ मा कलेज अफ मेडिकल साइन्सेस, चितवन (काठमाडौँ विश्वविद्यालय)बाट एमबीबीएस तथा सन् २०१३ मा सोही संस्थाबाट एमडी (नेत्र रोग) उपाधी हाँसिल गर्नुभएको हो ।

सन् २०१५ मा नेपाल नेत्रज्योति सङ्घको सञ्जाल अन्तर्गत भरतपुर आँखा अस्पतालमा आबद्ध हुनुभएकी उहाँले क्लिनिकल सेवा, शिक्षण तथा सामुदायिक आँखा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनुभएको छ । सन् २०२० मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत सहायक प्राध्यापक तथा सन् २०२५ मा एसोसिएट प्राध्यापकमा पदोन्नति भई रेजिडेन्ट, फेलो तथा मिड–लेभल नेत्र स्वास्थ्यकर्मीहरूको तालिममा भूमिका निर्वाह गरिरहनुभएको छ ।

कोर्निया सेवाको आवश्यकता महसुस गर्दै उहाँले विश्वप्रसिद्ध एलएआईसीओ (अरविन्द आई केयर सिस्टम)बाट कोर्निया तथा बाह्य नेत्र रोगसम्बन्धी फेलोशिप तालिम लिनुभएको छ । यसपछि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी कोर्नियल टिस्यू सङकलन प्रारम्भ गर्नुभएको छ र भरतपुर आँखा अस्पतालमा पूर्ण विकसित आँखा बैंक स्थापना गरी अहिले यसको नेतृत्व गरिरहनुभएको छ ।

डा रिमा शाह (मेडिकल सुपरिन्टेन्डेन्ट, बर्दिया आँखा अस्पताल )

डा. शाह युवा नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ २१ जुलाई २०२५ देखि नेपाल नेत्रज्योसित संघ, बर्दिया आँखा अस्पताल, सानोश्री तारातालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले हालसम्म तीनसय मोतियाबिन्दु शल्यक्रिया, १८० ‘प्टेरीजियम’ शल्यक्रिया तथा ७० साना शल्यक्रिया गरिसक्नुभएको छ भने १२ हजार ५०० भन्दा बढी बिरामीलाई ओपीडी सेवा प्रदान गर्नुभएको छ । उत्साह, समर्पण र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतासहित डा शाहले ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवा सुदृढ गर्दै अन्धोपन न्यूनीकरण अभियानमा सम्लग्न हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ “महिलाहरूको प्रगति, सहनशीलता र शक्तिलाई सम्मान गर्न चाहन्छु । नेत्र रोग विशेषज्ञका रूपमा मेरो काम दृष्टिको वरिपरि केन्द्रित छ । तर दृष्टि केवल चिकित्सकीय शब्द मात्र होइन यो महिलाले दैनिक रूपमा देखाउने दूरदृष्टि, दृढता र संकल्पको प्रतीक पनि हो । आउनुहोस्, जीवनका हरेक क्षेत्रमा समान अवसर प्रवद्र्धन गर्दै एक–अर्कालाई सशक्त बनाऔँ ।”

 सन् २०१८ मा ढाका विश्वविद्यालयअन्तर्गत शहीद सुहरावर्दी मेडिकल कलेज अस्पताल, बंगलादेशबाट ‘एमबीबीएस’ अध्ययन पूरा गर्नुभएकी डा शाहले सन् २०२४ मा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेत्र रोग विषयमा ‘एमडी’ उपाधि हाँसिल गर्नुभएको छ ।

समुदायस्तरमा सेवा विस्तारमा सक्रिय रहँदै उहाँले बंगलादेश र नेपालका ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरहरूमा सेवा पु¥याउँदै आउनुभएको छ ।

डा. बेबिका फुयाल ( मेडिकल सुपरिन्टेन्डेन्ट पाल्पा लायन्स लाकौल आँखा अस्पताल)

डा फुयाल युवा नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय, किस्ट मेडिकल कलेजबाट ‘एमबीबीएस’ तथा काठमाडौँ विश्वविद्यालयअन्तर्गत काठमाडौँ मेडिकल कलेजबाट नेत्र रोग विषयमा एमडी उपाधि हाँसिल गर्नुभएको छ ।

हाल उहाँ नेपाल नेत्रज्योति सङ्घ पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत रहँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा रोकथाम गर्न सकिने अन्धोपन विरुद्ध सक्रिय रूपमा काम गरिरहनुभएको छ । हालसम्म उहाँले एकहजार ५०० भन्दा बढी मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गर्नुभएको छ भने सयौँ ‘टेरीजियम’ तथा आकस्मिक शल्यक्रियाहरू गर्नुभएको छ । दैनिक रूपमा करिब १०० भन्दा बढि आँखाका बिरामीलाई ‘ओपीडी’ सेवा प्रदान गर्दै उहाँ पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका ग्रामीण क्षेत्रमा प्रत्येक महिना २–३ वटा शल्य शिविर सञ्चालन तथा समन्वय गरिरहनु भएको छ ।

मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा उहाँ अस्पतालको क्लिनिकल सुपरिवेक्षण, प्रशासनिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, बिरामी सुरक्षा तथा रणनीतिक योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समुदायसँग सहकार्य, जनचेतना अभिवृद्धि तथा रोकथाममुखी दृष्टिकोणमार्फत दृष्टिदोष भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा लागिरहनुभएको छ । उहाँ भन्नुहुन्छ “ग्रामीण नेपालमा सेवा गर्दै गर्दा म दृष्टिको परिवर्तनकारी शक्तिलाई प्रतिदिन अनुभव गर्छु । विशेष गरी दुर्गम क्षेत्रका महिलाहरूले गुणस्तरीय आँखा सेवा पाउनुपर्छ भन्ने मेरो प्रतिबद्धता हो । महिलाहरूले विभिन्न अवरोधलाई तोड्दै अघि बढौँ, एकअर्कालाई सशक्त बनाऔँ र उज्यालो भविष्य निर्माण गरौँ ।”


प्रतिक्रियाहरू

सम्बन्धित खबर