चक्रवात 'अर्नब' को उच्च सतर्कतामा नेपाल
काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना देखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानका आधारमा असोज १३ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज भारतमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातको प्रभाव नेपालमा अक्टोबर २९ को रातिदेखि सुरु हुने जनाइएको छ ।
प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा अक्टोबर ३० र ३१ मा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ । केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित बाढीबाट प्रभावित हुन सक्ने नदी किनार तथा जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ । मौसम पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोगका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरीका लागि १११४ र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
Shares