बजेटमा सवारीसाधनलाई प्राथमिकतामा राख्न नाडाको आग्रह

अर्थकागज
प्रकाशित: २६ चैत २०८१
Image description

काठमाडौं । आगामी वर्षको बजेटका लागि सुझाव दिने क्रममा अटोमोबाइल सम्वद्ध व्यवसायीहरूले सवारीसाधनका क्षेत्रलाई बजेटमा प्राथमिकतामा राख्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको 'नाडा अटो डायलग' कार्यक्रममा उनीहरूले वर्तमान नीति तथा व्यवस्थाले व्यवसायमा चुनौती थपिएको भन्दै यो क्षेत्रमा सुधारको माग गरेका हुन् । नाडाका अध्यक्ष करण चौधरीले सवारी साधन जनताको आवश्यकता बनेको भन्दै नागरिकको हिँडडुल सहज नभएसम्म अर्थतन्त्रमा समृद्धि हुन नसक्ने बताए। उनले मोबिलिटीले हरेक क्षेत्रलाई जोड्ने भन्दै यसको महत्व बुझेर त्यसअनुसार बजेटमा प्राथमिकतामा राख्न आग्रह गरे।

'अटोमोबाइल क्षेत्र केबल गाडी किनबेच गर्ने व्यापार मात्रै होइन, यो क्षेत्र रोजगारी, राजस्व र उद्योग प्रवर्द्धनसँग जोडिएको छ,' उनले भने । अध्यक्ष चौधरीले सरकारले अहिले विद्युतीय सवारी (इभी) किन्न दिने कर्जाको सीमा घटाएकोमा असन्तुष्टि व्यक्त गरे। राष्ट्र बैंकले केही समयअघि विद्युतीय सवारीमा कर्जा दिने सीमा ८० बाट घटाएर ६० प्रतिशतमा झारेको थियो। अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका क्रममा मन्त्रालय सुझाव संकलनको क्रममा रहेको बताए उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर नै बजेट आउने जानकारी दिए। पौडेलले अटोमोबाइल क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताए। 'अब यो क्षेत्र केबल आयातमै सीमित छैन, सवारी उत्पादनतर्फ पनि अघि बढिरहेको छ, जुन राम्रो संकेत हो,' अर्थमन्त्री पौडेलले भने ।

इभीमा ऋणको सीमाको सवालमा राष्ट्र बैंक एउटा स्वतन्त्र निकाय भएकोले दुई निकायबीच समन्वय आवश्यक रहेको उनले बताए। सरकार निजी क्षेत्रको मनोबल वढाउने प्रयासमा लागेको आवश्यक कानुनी र संरचनात्मक सुधार गर्दै जाने अर्थमन्त्रीको भनाइ थियो। अटोमोबाइल क्षेत्रले दिएको सुझावअनुसार सरकारले आगामी बजेटमा यसलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित खबर