सर्वोत्तम सिमेन्टको आईपीओ पहिलो दिन मै 'ओभर सब्सक्राइभ'
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ आवेदन खुलेको पहिलो दिन मै ओभर सब्सक्राइभ भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा आज बुधबार साँझसम्ममा ४ हजार ९०९ जना आवेदकले ३ लाख ६५ हजार ५५० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । यो माग भन्दा धेरै गुण आवेदन हो ।
बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको आईपीओको मूल्य प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छन् ।
Shares