हराएको निन्द्राले निन्द्रा विथोल्दा...........
मलाई निदाउनु छ,
मलाई निदाउन देऊ,
मलाई निदाउन दिएको छैन,
तिमीसँग जोडिएका स्मरणहरूले,
मलाई अन्तिमपटक निदाउनु छ,
तिम्रा सारा यादहरू भुलेर ।
कवि पुष्कर खड्काको हराएको निन्द्रा कविता संग्रहभित्र म पनि हराउन पुगेछु । कहिले काहीं नचिनेको मान्छेको कृतिले तानेर पाठकले केही लेख्छ भने त्यो नै कृतिकारको सफलता हो । पुष्कर खड्का मैले चिनेको मान्छे होइनन् । तर नचिनेको मान्छेले पनि सम्झेर त्यसमा पनि सोधि–खोजी आफ्नो कृति उपहार दिन आउनु मेरो लागि पनि गर्वको कुरा हो भन्दा मपार्इंत्व नहोला । हराएको निद्रा कविता संग्रहको बाहिरी आवरण चित्रले नै मेरो मन तान्यो । एक गेरुवस्त्रधारी मानिस निदाउन पल्टेको देखिन्छ, छेउमै एउटा कमण्डलु पनि देखिन्छ । सांसारिक बन्धनबाट मुक्त व्यक्ति पनि किन निदाउन सकेनन् त भन्ने खुल्दुली जागेर आयो र पुस्तक पल्टाउने जमर्को गरेँ । पुस्तकमा सग्रहीत ३६ वटा कविताहरू एकैबसाईमा पढी सिध्याएँ । कुनै पनि कृति एकैबसाईमा पढी सिध्याउनु मेरो लागि वल्र्ड रेकर्ड राखे जस्तै हो, तर पुष्कर खड्का ज्यूको कविता सग्रहले तान्यो र पढी सकाएँ । यो हुनमा मलाई दुई वटा विषय वस्तुले प्रेरित गर्यो :
१. कविताहरूको मार्मिक भावहरूको कारणले,
२. अर्को स्वछन्द मौलिक सिर्जनाहरूले,
साहित्यमा सबैभन्दा बढी लेखिने विधा कविता हो । यो श्रव्यअन्तर्गत पर्ने पद्य विधामा पर्दछ । कविताले साहित्यको अन्य विधाले जसरी जीवन र जगतको एउटा प्रभावकारी खण्डको चित्रण गर्न सक्छ । यस हिसावले हेर्दा कवि पुष्कर खड्काको कविताहरू जीवन र जगतका समग्र पक्षलाई समेटेर लेखेको आत्मा परक ग्रन्थ भन्दा फरक नपर्ला । कवि खड्काको कविताहरू पढेपछि मनमा लागेको केही झिनामसिना कुराहरू यहाँ प्रस्तुत गर्न चाहेँः
काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिकामा थुप्रै साहित्यिकारहरू छन् । पछिल्लो समय नव साहित्यकारहरूलाई प्रोत्साहन गर्दै समाजमा साहित्यकारको रूपमा विकास गर्ने र स्थापित गराउने काम यहाँको माटोमा जन्मेका सुसेली साहित्यिक प्रतिष्ठानले गर्दै आएको छ । यसै शिलशिलामा अरू साहित्यकारहरूको लहरमा श्री पुष्कर खड्का आफ्नो कविता सङ्ग्रह हराएको निद्रा लिएर कविको रूपमा उभिनु आएका छन् ।
जीवन भोगाइहरूको संग्रहालय हो । यो संग्रहालयभित्र अनेक भोगाइका तितामिठा पलहरू, अनगिन्ती अनुभूतिहरूलाई साहित्यको सहारा लिएर श्री पुष्कर खड्का कविता लेखनबाट आफ्नो साहित्यिक यात्राको पाइला चालेको देखिन्छ । दक्षिणकाली नगरपालिका वडा नं. ४ बाँसबारी निवासी खड्काको जन्म २०३३ साल चैत्र २९ गते माता कान्छी खड्का तथा पिता लीलाबहादुर खड्काको सुपुत्रका रूपमा भएको हो भने उनी दक्षिणकाली नगरपालिका वडा नम्वर ४ का बर्तमान वडा अध्यक्ष पनि हुन् ।
पहिलो पटक प्रकाशित कविता संग्रहमा कविले आफ्नो लेखनमा भोगाइ, अनुभूति, भावना र विचारलाई मूल विम्ब बनाई आत्मा परक शैलीको प्रयोग गरेको पाईन्छ । सरल भाषा र यथार्थ परक गाम्भीयर्ताले सिर्जनालाई जीवन्त तुल्याएको छ । कविको यस संग्रहमा संग्रहीत कविताहरूमा कवि सोयंको अन्तरमनको आवाज बाहिरिएको भान हुन्छ । अभ्यस्त कविहरूको झैं नक्कली आवरणले कतै ढाकेको छैन । नितान्त मौलिक र स्वच्छन्दताले भरेको कविताहरू कविको अन्तरमनको ध्वनी हो भन्न अत्युक्ति नहोला । उनको कविताहरूमा राजनीतिले पारेको मानवीय संवेदनाका अनेकौं अमूर्त भावहरू, भोगाईहरू, अनुभूतिहरू, दृष्टिकोण र चेतनाको लहर उर्लेको देखिन्छ ।
चेतना र चिन्तनको कलात्मक अभिव्यक्तिको प्रभावकारी माध्यम कविता भएकाले लेखक र पाठक बिचको भावनात्मक सम्बन्ध मिल्न गएमा सर्वप्रीय सृजनात्मक अभिव्यक्ति बन्न जान्छ । यो नै लेखकीय क्षमता हो । यस हिसावले पनि हराएको निद्रा सवल रहेको विश्लेषण गर्न सकिन्छ । सृजनाहरुमा प्रविष्ट भावको गाम्भीर्यता, कलात्मक प्रस्तुति र प्रयोग गरेको बिम्ब, प्रतीक, अलङ्कार र सरलतामा पनि बौद्धिक अभिव्यक्ति सम्प्रेषणले श्री खड्काको लेखकीय भविष्य उज्ज्वल रहेको आँकलन गर्न सकिन्छ । स्थानीयताको सुगन्ध, सांस्कृतिक बिम्ब, मौलिक र कलात्मक भाषा, भावको तरङ्ग, विचारको स्पष्टता, माटोप्रतिको माया, राष्ट्रियताको उच्च सम्मान आदि लेखेकको अर्को सवल पक्ष हुन् ।
प्रस्तुत हराएको निद्रा भित्रको पहिलो कविता तिम्रो सहर ले सहरीयहरूमा मानवता हराउँदै गएको र मायामा पनि कृतिमता र स्वार्थ मिस्सिएकोमा सहरको बैभव भन्दा गाउँको स्वछन्द प्यारो लागेको सन्देश बोकेको छ ।
तेस्तै उज्यालो कविताले मानवीय धर्मको ओकालत गरेको पाइन्छ । आफू मोटाई अरूको भलो गर्न सके मरेर गए पनि कतै नाम रहन्थ्यो कि भन्ने कविलाई लागेको छ । अर्को सशक्त र मार्मिक कविता हो मलाई चाहिंदैन । यो कविताको सन्देश हो, अकुत सम्पत्ति भएर मानवीय समवेदना हराएको कृतिम सुखभन्दा प्रकृतिको काखमा सबैको माया ममतामा दुःख सुखमा बाँच्नुमै आनन्द भन्ने । आफ्नो आस्था र भरोसाको संसार जतिनै साँगुरो भए पनि मनले स्वीकारेको परिबेश अरूको बैभवपूर्ण संसारभन्दा प्यारो हुन्छ । त्यसैले अरूको आस्था र विस्वासको खिल्ली उडाउने काम कसैबाट नहोस् भन्दै कवि लेख्न पुग्छः
.....हे, कविरूपी रचनाकार,
भगवान् मरे भनी
मेरो भावनासँग
खेल्न नआऊ ।
संसारलाई मानवताको
इतिहास सिकाउने,
प्रकृतिभन्दा माथि कोही छैन,
प्रकृति बचाउँदा हामी बाँच्छौं भनी,
पूजालाई संरक्षण मान्न सिकाउने,
मेरो देश विचारमा माथि छ ।
देशप्रेमले ओतप्रोतपूर्ण मेरो देश महान छ कविता राष्ट्रियताले भरिपूर्ण एक देशप्रेमीको अन्तरमनको भावना हो । कवि यतिकै चुपलागेर बस्दैनन् र नेता भनौदाहरूसँग भावपूर्ण आक्रोश पोख्दै लेख्न पुग्छन् ः
..... देशमा परावलम्बीका
सालिक राख्नेसँग
जनतालाई दासको
बिल्ला भिराउनेसँग
हाम्रो सम्बन्ध नराखौं ।
यसरी नै कवि तुलना गर्न पुग्दछन् हिजोको पुस्ता र आजको पुस्ताबिच र असन्तुष्टिको भावहरू पोख्छन् रचना मार्फत्:
हिजो
दियालो र टुकीको उज्यालोमा
भविष्य खोज्नेहरूले
मानवता भेट्थे,
आज विजुलीको उज्यालोमा
ज्ञान पाएकाहरू
आफन्तको पीडामा
मुख फर्काएर हिंड्छन्,
कृतिम सम्बन्ध गाँसेर
स्वार्थको नाता गाँसेका छन्,
देखिँदैन कतै मानवता ।
त्यस्तै कलियुगको नाति कविताले पवित्र सम्बन्ध र नाता पैसा र सम्पत्तिको तुलोमा जोखेर कर्मकाण्डी गर्ने कलियुगका जातिहरूको व्यवहारबाट कविको चित्त विचलन भएको देखिन्छ । यात्रा कविता अर्को आशावादी र प्रेरणादायी कविता हो । लक्ष्य महान छ भने जस्तोसुकै बाधाहरू आए पनि गन्तव्यमा पुग्न र लक्ष्य प्राप्त गर्न केहीले पनि छेक्न सक्दैन भन्ने सन्देश कवितामा पाइन्छ । आफ्नो प्यारो मान्छे, आफ्नो जन्मभूमि चटक्क छोडेर परदेश जानुपरेको पिडा र दुखत भविष्यको कल्पना सँगालेको मुग्लानी कविता आम परदेशी नेपालीहरूको ब्यथा जस्तो लाग्यो । प्रिय कवि कविता बौद्धिकता युक्त लाग्यो भने धोका अर्को अन्तरमुखि कविता हो जसमा कृतिमता बाहेक अरू केही छैन । जसलाई विश्वास गरे उसैबाट प्रताडित हुनुपरेकोछ भन्ने भाव पाइन्छ ।
यथार्थमा मन
भ्रम छर्ने,
वास्तविक संसार
बोध गर्न रोक्ने
बाहिरी इन्द्रिय सक्रिय बनाई
मानिसलाई धोका दिने
सुन्दर पर्दा हो ।
जीवन जिउनुको वास्तविक स्थायी मज्जा छाडेर मनको लहैलहैमा इन्द्रियहरूको क्षणिक स्वादमा अल्झेर यो अलौकिक चमत्कारिक शक्ति सम्पन्न जीवन तुच्छ लोभ र मोहमा अल्झेर खेर गएको त होइन भन्ने आसय मन कवितामा पाइन्छ । आमाप्रतिको सद्भाव र आमा नहुनुको पिडा उस्तै किसिमले प्रस्फुटन भएको छ आमा कवितामा भने हराएको निन्द्रा प्रेमि–प्रेमिका भनेको जीवनभरीको दुःखसुखको साथी हुनुपर्नेमा जीवनभरी नबिर्सने यादहरूको सँगालो भएको र हररात यादहरूमा शान्ति र निन्द्रा बिच्काउन नआए कति शान्ति मिल्थ्यो भन्ने कविलाई लागेको हुनुपर्छ । त्यस्तै देशप्रेम र दुषित राजनीति प्रतिको आवेग बोकेको कविताहरू हुन् ः खोला तर्ने, लठ्ठी बिर्सने, तपाईंलाई राम्रै छ, हामी, हस् बहादुर, परिवर्तन, धन्यवाद, व्यापारी कि सरकार, फूललाई फुल्न देऊ, मातृभूमि आदि । यी कविताहरूमा राजनीतिक चेतनाका अनेक बिम्ब र क्रान्ति चेत युक्त भावनात्मक अभिव्यक्ति देखिन्छ ।
आशा, डाक्टरसाप, मेरो घर, आफन्त जस्ता कविताहरू समय र परिस्थितिले उब्जाएको मनको ज्वारभाटा फुटेर निस्किएको आवेग र बेदनाहरू हुन् जस्तो लाग्छ ।
पिपल कविता मानव भएपछि मानवधर्म निभाउनु पर्दछ, आफ्नो अस्तित्व राख्न पिपल भएर जिउने अभिलाशा कविले यस कवितामा ब्यक्त गरेको छ । उनी, मेरी आमा, गरिबीको आनन्द, दण्डवत् छ, आमा, आधुनिकता जस्ता कविताहरूमा वेदना छ, चेतना छ । मनछुने भावनात्मक र ज्ञानवर्धक अभिव्यक्ति छ, त्यसैले यो कृति सबैले एकपटक पढ्नु अनिवार्य छ ।
जाति प्रथा हटाऔं, निषेध छाडौं जस्ता कविताहरू बर्तमान सामाजिक परिवेशमा राजनीतिक, सामाजिक, धार्मिक, आर्थिक तथा अन्य जुनसुकै नाममा मान्छेले भोग्नु परिरहेका विसंगति र विकृतिहरूलाई जातिको नाममा, धर्मको नाममा वा कुनै अलग विचारधाराको नाममा प्राकृतिक उपभोग, धार्मिक सहिष्णुता, राज्यले प्रदान गरेको समान अधिकार कतै–कसैबाट हनन् वा निषेध हुनुहुँदैन र यस्तो भए गरेको पाइएमा त्यसको विरोध र सबै अधिकारको संरक्षण गर्नु सबै नागरिकको कर्तब्य र अधिकार दुबै हो भन्ने चेतना युक्त कविताहरू हुन् ।
श्री खड्काको कृतिमा संग्रहित कविताहरू सरल छन् र राम्रा पनि छन् । कविको कविताहरू परिष्कृत र परिपक्व त छैन तर मौलिक छन् । कल्पनाबाट भन्दा पनि समय परिस्थितिले लेख बाध्या पारेको र लेख सिकाएको कलाशिल्पी जस्तो देखिन्छ । कतिपया कविताहरूमा भाषागत त्रुटि नदेखेको होइन तर परिष्कृत र पारंगत हुँदै जाने पक्ष उच्च छन् । भविश्यमा भावनाको आबेगहरूलाई मस्तिष्कले मथेर मात्रै परिष्कृत कविताहरु आउने कुरामा ढुक्क छु । विम्ब र प्रतिविम्बहरूले सिँगार्ने र कलात्मक सिर्जनशिल्ता र साहित्यिक गुनले पूर्ण हुन बाँकी नै देखिन्छ ।
अन्त्यमा, आफूले भोगेको जीवन र आफू उभिएको धरातलको यथार्थतालाई कविताको माध्यमबाट उजागर गर्दै कृति प्रकाशन गर्नुभएकोमा कवि श्री पुष्कर खड्काज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । यहाँको काव्यिक यात्राको पाइलाहरू कहिल्यै नथाकियोस् र नरोकियोस् । साहित्यिक उचाइ चुम्न सफल रहोस्, मेरो शुभकामना ।
तामाङ कवि तथा गीतकार हुन् ।
प्रतिक्रियाहरू
shekhar kumar Shrestha
2 years ago
धन्यवाद चन्द्र सर
Shares