सम्पदा लघुवित्तका कर्मचारीहरू आन्दोलनमा, मर्जरपछिको विभेद र असमानताको विरोधमा चरणबद्ध कार्यक्रम घोषणा
बन्दीपुर । मर्जरपछिको व्यवस्थापनमा देखिएको असमानता, विभेद र एकपक्षीय निर्णयविरुद्ध सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू आन्दोलित भएका छन्। ‘भेदभाव विरुद्ध संघर्ष समिति’को नेतृत्वमा शान्तिपूर्ण तर प्रभावकारी विरोध कार्यक्रमको घोषणा गरिएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधित औपचारिक पत्रमा उल्लेख गरिएअनुसार, मर्जरपछि कर्मचारीहरूका सरुवा, जिम्मेवारी तोक्ने कार्य, सेवा शर्त तथा अन्य निर्णयहरूमा पारदर्शिता नदेखिएको, आपसी समन्वय र न्यायोचित प्रक्रियाको पालना नगरिएको गुनासो गरिएको छ।
२८ बुँदे मागपत्र कम्पनी सचिवमार्फत २०८२ वैशाख ८ गते संचालक समितिमा पेश गरिएको स्मरण गराउँदै आन्दोलनकारी पक्षले वैशाख १९ गतेसम्म कुनै सुनुवाइ नभएको, माग बेवास्ता गरिएको र व्यवस्थापन पक्षले चासो नदिएको उल्लेख गरेका छन्।
चरणबद्ध विरोध कार्यक्रम:
१. प्रथम चरण (वैशाख २१–२२): कालोपट्टी बाँधेर शान्तिपूर्ण सांकेतिक विरोध।
2. दोस्रो चरण (वैशाख २३–२४): कालोपट्टी बाँध्ने, साथै आधा दिन ‘पेन डाउन’ अर्थात् काम नगर्ने।
3. तेस्रो चरण (वैशाख २५–२७): शान्तिपूर्ण विरोध प्रदर्शन, शाखा कार्यालयको दैनिक कार्य पूर्ण रूपमा ठप्प पार्ने।
4. चौथो चरण (वैशाख २८ पछि): सम्पूर्ण कार्यालयमा काम बन्द गरी केन्द्रीय कार्यालय घेराउ गर्दै विरोध जारी राख्ने।
कर्मचारीहरूले माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्पष्ट संकेत गरेका छन्। साथै, आन्दोलनको क्रममा यदि कुनै हस्तक्षेप, दवाव वा अमानवीय व्यवहार भयो भने प्रतिरक्षाका लागि जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव हुने चेतावनी पनि दिइएको छ।
संघर्ष समितिका अध्यक्ष दिपेन्द्र तामाङद्वारा हस्ताक्षरित पत्रमा समस्याको समाधान सौहार्दपूर्ण वार्ताका माध्यमबाट गर्न आग्रह गरिएको छ।
Shares