बजेटपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो, कुन भेरियन्ट कति लाखले सस्तो ?

अर्थकागज
प्रकाशित: २६ जेठ २०८३
Image description

सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा भन्सार संरचनामा गरेको संशोधनपछि नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको मूल्य घटाएको छ। कम्पनीले तत्काल प्रभावबाट ई–भिटाराका सबै चार भेरियन्टमा एक लाख रुपैयाँसम्म मूल्य कटौती गरेको जनाएको छ।

कम्पनीका अनुसार सरकारले ईभीमा दिएको कर सहुलियतको सम्पूर्ण लाभ ग्राहकसम्म पुर्‍याउने नीतिअनुसार मूल्य समायोजन गरिएको हो। यससँगै ई–भिटाराको प्रारम्भिक मूल्य ४८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने भएको छ।

मूल्य समायोजनपछि डेल्टा भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ, जेटा भेरियन्टको ५२ लाख ९९ हजार रुपैयाँ, अल्फा भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तथा फ्ल्यागसिप अल्फा डुअल टोन भेरियन्टको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ। कम्पनीले यी परिचयात्मक मूल्यहरू पहिलो १०० बुकिङका लागि मात्र लागू हुने जनाएको छ।

सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरी ले सरकारले विद्युतीय सवारीसाधनलाई थप पहुँचयोग्य बनाउने उद्देश्यले ल्याएको सहुलियतको प्रत्यक्ष लाभ ग्राहकलाई दिनु आफ्नो दायित्व भएको बताए। उनका अनुसार कर कटौतीबाट प्राप्त फाइदा कम्पनीले आफ्नै नाफामा नराखी पूर्ण रूपमा उपभोक्तालाई हस्तान्तरण गरेको हो।

कम्पनीले नेपाल विश्वकै तीव्र गतिमा ईभी अपनाउने बजारमध्ये एक बन्दै गएको उल्लेख गर्दै ई–भिटारालाई विभिन्न मूल्य वर्गका ग्राहकका लागि विश्वसनीय विद्युतीय विकल्पका रूपमा विकास गरिएको जनाएको छ।

सुजुकी ई–भिटारा नेपालको पहिलो जापानी ब्याट्री विद्युतीय एसयूभी भएको कम्पनीको दाबी छ। समर्पित HEARTECT-e प्लेटफर्ममा आधारित यो गाडीमा २,७०० एमएम ह्विलबेस, लेभल–२ एडीएएस, फाइभ स्टार बीएनक्याप सुरक्षा क्षमता तथा सम्पूर्ण भेरियन्टमा V2L सुविधा उपलब्ध रहेको बताइएको छ।

हाल सीजी मोटोकर्पसँग देशभर २५ वटा बिक्री केन्द्र, ४० वटा सर्भिस सेन्टर तथा ईभीमा दक्ष प्राविधिकहरूको नेटवर्क रहेको छ। कम्पनीले मूल्य कटौती कुनै अस्थायी प्रचारात्मक योजना नभई बजेटपछि आएको नीतिगत परिवर्तनअनुसार गरिएको स्थायी मूल्य पुनरावलोकन भएको स्पष्ट पारेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर