उदयपुरका सडकहरु वर्षाले अवरुद्ध, पहाडी ग्रामिण क्षेत्रमा सम्पर्क बिच्छेद
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट जिल्लाका विभिन्न पालिकामा संचालन भएको बससेवा केही दिनदेखि वर्षाले नदीमा बाढी आएका कारण र सडकमा पहिरो खसेका कारण सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रका गाउँसँग सम्पर्क विच्छेद भएको छ ।
उदयपुरबाट खोटाङ जिल्ला जाने सगरमाथा लोकमार्गको विभिन्न ७ ठाउँमा पनि पहिरो गएर सवारी साधन संचालन हुन नसक्ने अवस्था रहेका कारण दिक्तेल, बुइँपा, चिसापानी, हलेसी, सिम्पानी लगायतका ठाउँमा संचालन भएका बस तथा जीप सेवा अहिले पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सदरमुकाम गाईघाटबाट जिल्लाभित्रका रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाको माथिल्ले भेगमा चल्ने बससेवा अवरुद्ध हुँदा स्थानीय मानिसहरु र व्यापारीहरु समेत समस्यामा परेका छन् ।
सवारी साधन चल्ने सडककै कारण पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो भने सवारी साधन संचालनकै लागि सडक खनिएको भए पनि सडक व्यवस्थित नहुँदा वर्षाका समयमा पहिरो गएर सडकमा जम्मा भएपछि यातायात संचालनमा अवरोध हुने गरेको छ ।
रौतामाई गाउँपालिकाका प्रवक्ता तथा ३ नं वडाध्यक्ष दिपेन्द्र दाहालले केही दिनदेखिको अत्यधिक वर्षाले सडक अवरुद्ध भएको र सडक अवरुद्ध हुँदा पहिरोले किचेर घायते भएकालाई, चट्याङ्ग लागेर घाइते भएकालाई उपचारमा लैजान समस्या भएको बताए ।
गाईघाटबाट रौता पोखरी, सल्ले, भुट्टार, जाँते, बलम्ता , बाराह, ताम्लिछा, बासबोटे, लाफागाउँ लगायतका ठाउँमा संचालन भएको बससेवा अवरुद्ध भएको रौतामाईका प्रवक्ता दाहालले बताए ।
यसैगरी कटारी नगरपालिकाको बसपार्कबाट उदयपुरको रुपाटार, घुर्मी, ठानागाउँ, ताप्ली , मयांखु, लिम्पटार लेखगाउँ, लेखानी लगायतका पहाडी गाउँहरुमा संचालन भएका बस सेवाहरु पनि अवरुद्ध भएको यातायात व्यवसायीहरुे बताएका छन् ।
उदयपुर हिमाली यातायात व्यवसायी संघका कोषाध्यक्ष नारायणसिंह ठकुरीले (के.बि) केही दिनदेखि सदरमुकाम गाईघाटबाट पहाडी क्षेत्रमा संचालन हुने बससेवा बाढी पहिरोले सडक क्षतीग्रस्त भएकोले संचालनमा अवरोध आएको बताए ।
कोषाध्यक्ष ठकुरीले केही दिन घाम लागेमा सडकमा झरेको पहिरो पन्छाएर यातायात संचालनमा आउने र सडकका झरेको पहिरो सम्बन्धित पालिकाको वडा तथा स्थानीय जनता, यातायात मजदुर सबैको सहभागितामा पन्छाएर बससेवा संचालन गरिने बताए ।
यसैगरी गाईघाटबाट जोगीदह, हडिया, शिवाई, सुन्दरपुर सप्तरीको फत्तेपुर जाने बससेवा पनि अवरुद्ध भएको छ । गाईघाटदेखि फत्तेपुर ३० किलोमीटर रहेको तर त्यस बिचमा जम्मा ३० वटा साना ठूला खोला खहरे पर्ने भएकोले सामान्य पानी पर्दा पनि जोगीदहदेखि पूर्वतिर बाढी आएर बाटो चिप्लो हुने भएकोले दुर्घटना हुने संभावना रहेकोले यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
अवरुद्ध भएको सगरमाथा लोकमार्गका बारेमा गाईघाट दिक्तेल सडक योजना गाईघाटका इन्जिनियर नारायण थापाले सगरमाथा लोकमार्गको गाईघाटदेखि माथि ७ ठाउँमा पहिरो गएकोले यातायात सेवा अवरुद्ध भएको जानकारी दिएका छन ।
बढी पहिरो त्रियुगा नपाको वडा नं १५ को खाँबु क्षेत्रमा पर्ने रानीवासबाट तोरीबारी जाने बाटोमा झरेको र सोही वडाको रातमाटे भन्ने ठाउँमा पहिरोले सडकको ट्र्याकसमेत केही भाग बगेको छ । पहिरो पन्छाउन र बगेको ट्र्याकमा माटो ढुङ्गा बालुवा भर्नु पर्ने हुँदा घाम लागेका खण्डमा बढीमा १५ दिन भित्रमा यातायात संचालन हुने छ । पानी परिरहेका खण्डमा सडकको अवरोध हटाउन समय लाग्ने इन्जिनियर थापाले बताए ।
Shares