लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने


काठमाडौं । लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ ।
यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा धुर्ब भट्टराईले हस्ताक्षर गरेका छन् ।
एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ । सम्झौता अनुसार एलिटले कम्पनीको पूँँजी वृद्धि, व्यवशाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने छ ।
यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।हाल १३ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ । सो अवसरमा पूँजी वृद्धि पछि पब्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भट्टराईले जानकारी दिए ।
रुपन्देहीको तिलोत्तमा १५ स्थित कारखानाबाट कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्य पदार्थ उत्पादन गरिरहेको छ ।
हालसम्म औषधीजन्य उद्योगहरु पब्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन । २ वटा औषधी उद्योगले आईपीओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन । तर, आयूर्वेद औषधी उद्योगको रुपमा उक्त कम्पनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।
Shares