त्रियुगाका पाँच वडामा सम्पवेल प्रणालीबाट खानेपानी वितरण हुने

माधव पोखरेल
प्रकाशित: २१ फागुन २०८०
Image description

उदयपुर । उदयपुरको सदरमुकाम स्थित त्रियुगा नगरपालिकाका ५ वटा वडाका जनताले अब फिल्टर गरिएको सम्पवेल प्रणालीको स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने भएका छन् । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वर्षाका समयमा उपभोक्ताहरुले धमिलो पानी प्रयोग गर्नु पने अवस्था रहेकोमा अब मुहान मै फिल्टर गरिएको स्वच्छ खानेपानी उपलब्ध गराउन सम्पवेल प्रणालीबाट पानी पोखरीमा जम्मागरी धमिलो पानी आउन नदिन काम अघि बढाएकोले उपभोक्ताहरुले स्वच्छ पानी प्रयोग गर्न पाउने भएका हुन ।

त्रियुगा साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका कार्य बाहक अध्यक्ष ओम बहादुर खड्काले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं १० मा उपभोक्ता धेरै भएको, पुराना पाइप लाइन जिर्ण भएको, वर्षाका समयमा धमिलो पानी आउने र बाढी पहिरोको कारण स्वच्छ पानी उपलब्ध गराउन समस्या भएको छ । यो समस्या समाधानकालागि जिर्ण भएका पाइप लाइन विस्थापित गरेर सडकका दायाँ बायाँ खानेपानीको पाइप लाइन विस्तार गर्ने, फिल्टर सहितको ५ लाख घनमिटर क्षमताको पानी टंकी निर्माण गर्ने, वर्षामा अत्यधिक बाढी पहिरोको जोखिम हुने भएकोले जमिन मुनिबाट पानी तानेर पोखरीमा जम्मा गरी धमिलो पानी आउन नदिन सम्पवेल प्रणालीबाट पानी वितरण गरिने योजनाकालागि सर्वेक्षण भै रहेको बताए ।

नेपाल सरकार सह लगानी कोष मार्फत बजेट प्राप्त गरी कार्यसम्पादन गर्ने लक्ष्य रहेको जानकारी दिंदै कार्यबाहक अध्यक्ष खड्काले सर्भे गर्ने काम भैरहेकोले सर्भेक्षण समाप्त भएपछि यसको लागत इष्टिमेट तयार हुने र बजेटका बारेमा जानकारी पाइने छ । तर यसकालागि अहिले करीब १५ करोड लाग्ने अनुमान गरिएको बताए ।

करीब १५ करोडको लागतमा त्रियुगा नगरपालिका वडा नं ३, ९, १०, ११ र १२ मा सेवा क्षेत्र रहेकोले यि सबै वडामा स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु चुनौती पूर्ण रहेको उनले बताए ।

त्रियुगा साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिव सन्तोष खड्काले ५ वटा वडाका करीब २ हजार ८ सय घरधुरीका २५ हजार जनाले खानेपानी उपभोग गर्ने यसमा सरकारी कार्यालय ४४ वटा, संघसंस्था ४६ वटा सेवाग्राही उपभोक्ता रहेको बताए ।

सचिव खड्काका अनुसार ५ लाख र ७ लाख क्षमताको पानी टंकीबाट दिनको तीन पटकसम्म पानी उपलब्ध गराएको र कसैलाई कुनै कार्य गर्नु पर्दा पानीको थप आवश्यकता भएमा उपलब्ध गराउने व्यवस्था रहेको छ ।

खानेपानीको मुहानबाट करीब १३ किलोमिटर क्षेत्रमा पानी वितरण गरिएको र सबै उपभोक्तालाई समितिको आन्तरिक श्रोतबाट पानी उपलब्ध गराईएको सचिव खड्काले बताए ।

कार्यबाहक अध्यक्ष खड्काले पहिलेको कार्यसमितिले २०६२।०६३ मा नगर विकास कोषबाट लिएको ३ करोड १५ लाख ऋण तिर्न सकेको थिएन । पछि पनि ऋण थपिएकोले ८ करोडसम्म पुगेको र आफू कार्यबाहक अध्यक्ष भएर आएपछि धेरै कुरामा सुधार गरेको र पानीको मिटर रिडङमा १० लाख र मासिक ८लाख महशुल संकलन हुने गरेको बताए ।

का.बा. अध्यक्ष खड्काले हाल २ करोड २५ लाख ऋण चुक्ता गरेको र मासिक ७ लाख १० हजारको दरले बुझाउने गरेको बताए । शुरुदेखि ऋणमा डुबेको, कार्यालय व्यवस्थापन लथालिङ भएको, पानीको महशुल मनपरी खर्च गर्ने, व्यक्तिगत रुपमा चलाउने,खातामा जम्मा नगर्ने, सामान्य शौचालय पनि नभएको अवस्थामा उपभोक्ता समिति रहेको बताए ।

उपभोक्ता समितिका का. बा अध्यक्ष खड्काले पुरानो समितिले कर्मचारीहरुलाई छ महिनादेखि तलब दिन सकेका थिएनन् , कार्यालय भाडामा बसेको थियो, कार्यालय व्यवस्थापन असतव्यस्त रहेकोमा आफुले जिम्मेवारी सम्हालेपछि कार्यालयलाई व्यवस्थित रुपले संचालन गरेको बताए । यसैगरी खानेपानीको महशुल नियमित रुपले संकलन गरी बैंक खातामा जम्मा गरी खर्च गर्ने गरेको, कर्मचारीहरुलाई नियमित मासिक रुपमा तलब उपलब्ध गराएको , आफ्नै भवनमा कार्यालय संचालन गरेको, पानीको समस्या समाधान भएको, प्रविधि मैत्री कार्यालय बनाएको,उपभोक्ताले घरबाटै पानीको महशुल बुझाउने व्यवस्था गरिएको लगायतका सुधार गरेको खड्काले बताए ।

हाल आर्थिक वर्ष ०६२ ।०६३ मा निर्धारण भएको पानीको महशुल १५ युनिटको रु. १५० नै कायम रहेको र अब बढाएर २५ युनिट पानी उपलब्ध गराउने प्रयास भैरहेको जानकारी दिंदै का. बा. अध्यक्ष खड्काले आर्थिक वर्ष ०५२। ०५३ मागाईघाट खानेपानी योजनाको नामबाट स्थापना भएको र पछि २०६२।०६३ मा त्रियुगा साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका नामबाट संचालन भैरहेको बताए ।

उनले यस अघिका उपभोक्ता समितिका पदाधिकारीले संस्थाको आर्थिक हिनामिना गर्नुका साथै नियम कानुन मिचेर आफूखुसी काम गर्दा ऋणमा डुबेको थियो आफ्नो टीमको प्रयासले अवस्थामा सुधार आएको बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर