हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा पहिलो दिनमै पर्यो ८ गुणा बढीको आवेदन
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आजदेखि निष्काशन गरेको आईपीओमा आवेदनको ओईरो लागेको छ । कम्पनीले आईपीओ निष्काशन गरेको पहिलो दिनमा ८.०९ गुणाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड अनुसार पहिलो दिन आज साँझा ८ बजेसम्म ५ लाख २० हजार २६७ जना आवेदकबाट ६२ लाख ६२ हजार २५० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको हो । पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमाआईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता सेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । लगानीकर्ताले छिटोमा असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यद्यपि, आवेदन न्यूनतम १० कित्ता र १० हजार कित्ताका लागि दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
Shares