निःशुल्क आँखाको शल्यक्रिया पछि पुनः काममा फर्किए ७० बर्षिय जय किशोर
विराटनगर महानगरपालिकाका ७० बर्षिय जय किशोर साहले विगत लामो समयदेखि जीवन निर्वाहका लागि रिक्सा चलाउँदै आईरहेका थिए । उमेरले घरमै अरुको हेरचाह र स्याहार सुसारमा बस्नुपर्ने भएपनि परिवारमा आँफुसहित ३ जनाको पेट पाल्नैकै लागि भएपनि दैनिक काम गर्नुपर्ने बाध्यतामा छन् उनि ।
परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र घरमा श्रीमति र एक छोरा समेत शारिरिक रुपमा अशक्त भएका कारण परिवारको दैनिक निर्वाहका लागि समेत उनले दैनिक रुपमा परिश्रम गर्नुपर्ने बाध्यता छ ।
जसोतसो दैनिक रिक्सा चलाएको कमाईबाट उनको परिवारको दैनिक गुजारा भई रहेको नै थियो तर करिब ६ महिना अघि उनको आँखामा समस्या देखियो । उनको आँखाको दृष्टि बिस्तारै कम हुँदै गयो नजिकैका कुराहरु समेत प्रस्ट देख्न नसकेपनि उनले रिक्सा चलाउने पेशाबाट अलग हुनुपर्यो ।
आफ्नो लागि मात्र नभएर घरमा रहेका अशक्त श्रीमती र छोराका लागि पनि साहले कमाउनै पर्ने थियो रिक्सा चलाउन सक्ने अवस्था नभएपनि उनले एउटा होटलमा काम गर्न सुरु गरे, तर त्यहा पनि काम गर्न सजिलो त कहाँ थियो, दृष्टि कमजोर भएकै कारण उनलाई होटलमा काम गर्न समस्या पर्यो । ‘होटल काम गर्दा पनि आँखा नदेखेका कारणले नै धेरै गल्तीहरु भए जस्तै एउटा माग्दा अर्को दिने, थोरै दिनु पर्ने ठाँउमा धेरै दिने, धेरै दिनु पर्ने ठाँउमा थोरै दिने, बेलाबलामा त खानेकुरा दिन जाँदा लडेको पनि छु’ जय किशोरले बिगत सम्झदै भने ।
‘कतिजनाले आखाँको जाँच गराउन सल्लाह पनि दिए तर आँफुलाई परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता थियो इजाल कसरी गर्नु पैसा कहाँबाट ल्याउनु यति बुढो पनि भइसके अब इलाजले पनि फेरि आँखा पहिले जस्तै दख्छु भन्ने सोचेको पनि थिएन’ साहले भने ।
श्रीमानको आँखाले आँखा कम देख्न थालेपछि घरमा धेरै दुुःख भयो, रुदै उनकी श्रीमतिले भनिन् आफु र छोरा नै काम गर्न नसक्ने भएकाले अझ बढी दुःख भएको र ३ महिना देखि कोठा भाडा समेत तिर्न नसकेको बताईन् ।
तर एकदिन उनकी छिमेकीले आफुलाई पनि यस्तै समस्या भई नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार भई फेरी पहिले जस्तै काम गर्न सक्ने भएकोले उनले जयकिशोरलाई पनि अस्पतालमा जान सुझाइन् छिमेकीको कुरा सुनेपछि उनको मनमा केहि आशा पलायो । छिमेकीको सल्लाह बमोजिम एक दिन उनि अस्पताल गएर आँखाको परिक्षण गराए, परिक्षणबाट उनको दुबै आँखामा मोतिविन्दु भएको थाहा भयो । उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण शल्यक्रिया गराउने पैसा नभएको बताएपछि अस्पतालले उनको निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरिदिने भयो ।
डाक्टरको परामर्श अनुसार सुरुमा दाहिने आँखाको शल्यक्रिया गरियो । शल्यक्रिया पछाडी उस्को प्याच खोलियो त्यसपछि जय खुशी हुँदै एता उता खुशी भई हिडडुल गर्न थाले र भन्न थाले अब म पहिले जस्तै रिक्सा कुदाई आर्थिक अवस्था ठीक पार्ने छु ।
यसरी आर्थिक अभावकै कारण कोहि पनि नागरिक आँखा उपचारबाट बन्चित नहुन् भनेर नेपाल नेत्रज्योति संघले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा बार्षिक विभिन्न निशुल्क आँखा शिबिरहरु समेत संचालन गर्दै आईरहेको छ । ‘यदि अस्पतालमा कोहि व्यक्ति आँखाको समस्या लिएर आँउछ भने उसंगै पैसा नभएकै कारण उसले बिना उपचार अस्पतालबाट फर्किनु पर्दैन, हामि निःशुल्क रुपमा बिरामीको उपचार गराउँछौ’ अस्पताल व्यबस्थापक कुमार पृथुले भने ।
Shares