गाईघाटको कृषि बजार अस्तव्यस्त !

माधव पोखरेल गोज्याङ्ग्रे
प्रकाशित: २५ भदौ २०८०
Image description

उदयपुर । उदयपुरको जिल्ला सदरमुकाम गाईघाट बजारमा रहेको सगरमाथा कृषि उपज बजार अहिले अस्तव्यस्त अवस्थामा रहेको छ । त्रियुगा नगरपालिकाको ११ र १३ नं वडामा पर्ने यो बजार २०७१ सालमा स्थापना भै संचालनमा आएको हो ।

नगरपालिकाले एयरपोर्ट बनाउने भनेर छुट्याएको जग्गामा विमानस्थल नबन्ने भएपछि स्थानीय जनताको सहमतीमा सगरमाथा कृषि उपज बजार संचालन गरिएको भए पनि त्रियुगा नगरपालिकाले बेवास्ता गर्दा बजार अस्तव्यस्त भएको कृषि उपजका व्यवसायीहरु बताउँछन ।

सगरमाथा कृषि उपज बजार व्यवसथापन समितिका अध्यक्ष दशरथ साहका अनुसार कोभिडपछिका समयमा कृषि बजारको अवस्था दयनिय भएको र आर्थिक मन्दीका कारण व्यापारीहरु संकटमा परेका छन् । नगरपालिकाले दिनु पर्ने सेवा सुविधा उपलब्ध नगराएको तर भाडा भने तिर्नु पर्ने अवस्था छ । नगरपालिकाले स्टल भाडा लिएपछि स्वा सुविधा पनि दिनु पर्छ तर दिएको छैन । कृषि बजारको फोहर दिनहुँ उठाउनु पर्नेमा उठाएको छैन । हप्तामा एक पटक उठाएर हुँदैन । तरकारी बजारमा दिनहुँ फोहर जम्मा हुन्छ । त्यसको व्यवस्थापन नगर्दा बजार नै दुर्गन्धित भएको अध्यक्ष साहले बताए ।

नगरपालिकालाई कृषि उपज बजारले दुई आर्थिक वर्षको रु ९ लाख १५ हजार दिन बाँकी रहेको जानकारी दिंदै अध्यक्ष साहले व्यवसायीहरुबाट स्टल भाडा वापतको रकम नउठेकोले कर्मचारीको तलब पनि दिन बाँकी रहेको छ । तलब समेत जम्मा ९लाख ५० हजार भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

नगरपालिकाले स्टल भाडा वापतको रकम भुक्तानी नगरेसम्म सगरमाथा कृषि उपज बजार संचालक समितिको अधिवेसन गर्न समेत नदिएको तर स्थानीय सरोकारवाला, टोल विकास समिति, वडा कार्यालय, तथा व्यवसायीहरुले संचालक समितिको निर्वाचन गर्नु पर्ने भनेर आवाज उठेपछि पन्द्रदिन अघिमात्र निर्वाचन भएको र सो निर्वाचनबाट आफूलाई सर्वसम्मत अध्यक्ष चयन गरेको कृषि उपज व्यवसायी समेत रहेका अध्यक्ष साहले बताए ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा नपाले नै स्टल बनाइदिएको भए पनि व्यवस्थित गर्न नसकेको र कार्यविधि निर्देशिका वा व्यवस्थापनकाअन्य कार्यहरुमा नपाले ध्यान नदिदा तरकारी बजार अस्तव्यस्त भएर चल्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष साहले बताए ।

यस विषयमा त्रियुगा नगरपालिकाका सूचना अधिकारी घनश्याम पोखरेलसँग जिज्ञासा राख्दा सगरमाथा कृषि उपज बजार संचालक समिति तदर्थ समिति रहेकोमा कृषिबजार संचालन तथा स्टल भाडा वापतको रकम असुल गर्न बाँकी रहेकोले सो रकम बुझाएपछिमात्र नयाँ कार्यसमिति गठन गर्न अनुरोध गरिएकोमा कृषि उपज व्यवसायीहरुले आफू खुसी नयाँ समिति गठन गरेको बताए ।

पोखरेलका अनुसार नगरपालिकाकाले सगरमाथा कृषि उपज बजारको उचित व्यवस्थापनकालागि व्यवसायीसँगष् बसेर आवश्यक छलफल गर्ने तयारी भैरहेको छ । नगरपालिकाको आदेश बिना नै सगरमाथा कृषि उपज बजार संचालक समिति बनाएपछि समस्या भएको र बाँकी रकम भुक्तानीकालागि नगरपालिकाले ताकेता गरिरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर