पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
काठमाडौँ । पृथ्वीको औसत तापक्रम आगामी समयमा कम्तीमा १.८ डिग्री सेल्सियससम्म बढ्ने निश्चितजस्तै देखिएको छ । तापक्रम यो तहसम्म पुगेमा ठूलो मात्रामा हिमनदी पग्लिने, समुद्री सतह बढ्ने तथा विश्वभरका तटीय सहर र मानव जीवनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनले पृथ्वीको तापक्रम सन् २०१५ को पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको सुरक्षित सीमाभन्दा निकै माथि पुगिसकेको जनाएको छ । प्रतिवेदनका अनुसार तापक्रममा हुने प्रत्येक अतिरिक्त वृद्धिले चरम मौसम, हिमनदी पग्लिने, पारिस्थितिक प्रणालीमा क्षति र तटीय सहर डुब्ने जोखिम थप बढाउनेछ ।
संयुक्त राष्ट्रसंघले यसअघि सार्वजनिक गरेका विभिन्न प्रतिवेदनले पनि पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएका छन् ।
पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिपूर्वको अवस्थाको तुलनामा ३ डिग्री सेल्सियससम्म बढेमा सन् २१०० सम्ममा एक चौथाइभन्दा बढी हिमनदी पग्लिन सक्ने अनुमान गरिएको छ । यसबाट समुद्री सतह १३ सेन्टिमिटरसम्म बढ्न सक्नेछ। यस्तै, हालको अवस्था निरन्तर रहेमा सन् २०५० सम्ममा विश्वव्यापी खाद्य उत्पादनमा १४ प्रतिशतसम्म कमी आउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार यस शताब्दीमा विश्वको औसत तापक्रमलाई पुनः १.५ डिग्री सेल्सियसको सीमामा ल्याउन सकिने सम्भावना अझै रहेको छ । त्यसका लागि तापक्रमलाई करिब १.८ डिग्री सेल्सियसभन्दा तल राख्नुपर्नेछ ।
यसका लागि शून्य खुद उत्सर्जनको लक्ष्यबाट पछि हट्न नहुने तथा जीवाश्म इन्धनको प्रयोग घटाउँदै वन विस्तारलगायत वायुमण्डलबाट कार्बन सोस्ने उपायलाई तीव्र बनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । बढ्दो तापक्रमले मानव स्वास्थ्य, खानेपानीको आपूर्ति, पूर्वाधार र अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने चेतावनी दिइएको छ । यसबाट हुने केही क्षति पूर्ण रूपमा उल्ट्याउन नसकिने पनि जनाइएको छ ।
जलवायु संकटबाट बच्न तत्काल र ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाउने प्रभावकारी उपाय अपनाउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ । तापक्रम केही समय बढे पनि त्यसलाई उच्चतम बिन्दुमा पुगेर पुनः घट्ने अवस्थामा ल्याउनुपर्नेमा जोड दिइएको छ ।
प्रशान्त महासागर क्षेत्रका युवा जलवायु अभियन्ताका तर्फबाट बोल्दै विशाल प्रसादले १.५ डिग्री सेल्सियसको सीमा कायम गर्नु विकल्प नभई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको जिम्मेवारी भएको बताएका छन् । उनले जीवाश्म इन्धनको विस्तार तत्काल रोक्नुपर्ने बताएका छन् ।
अन्तरसरकारी जलवायु परिवर्तनसम्बन्धी समितिकी सहअध्यक्ष प्राध्यापक डेब्रा रोबर्ट्सले जलवायु संकट सामना गर्ने पुराना उपाय अब पर्याप्त नहुने बताएकी छन् । उनले जलवायु परिवर्तनको सामना गर्न नीति र विद्यमान व्यवस्थामै व्यापक परिवर्तन आवश्यक रहेको बताएकी छन् ।
Shares