आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
काठमाडौं । देशका अधिकांश क्षेत्रहरूमा आज बदली मौसम रहने र केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
हाल देशको पश्चिम र मध्य क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव देखिएको छ। यसकै कारण केही ठाउँमा चट्याङसहित हल्का वर्षा भइरहेको छ, विशेषतः कोशी, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा।
दिउँसोको समय देशको पहाडी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। यिनै क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको बताइएको छ।
उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा भने हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी र मधेस प्रदेशसँगै पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ। देशका अन्य स्थानहरूमा पनि एक–दुई ठाउँमा यस्तै मौसम देखिन सक्नेछ।
मौसमका यिनै परिवर्तनशील अवस्थाले दैनिक जनजीवन, कृषि गतिविधि, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने सम्भावना रहेकाले मौसम विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Shares