आँखा स्वास्थ्य सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई नेत्रज्योति संघले ५० हजार पुरस्कार सहित सम्मान गर्ने
नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार सहित सम्मान गर्ने भएको छ । असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले टिकटक प्रतियोगिताको आयोजना गरी उत्कृष्ट भिडियोलाई सम्मान सहित पुरष्कृत गर्न लागेको हो ।
पछिल्लो समय युवा देखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र ।
संघका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको र्याब सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमि देखाएकोले आम जनतामा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाई अन्धोपना न्यूनिकरण गर्ने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगिहरुले निर्माण गरेको भिडियोको बिषयबस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा बिषयबस्तु समावेश गर्न पाईने छैन ।
प्रतियोगिले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समाबेश नगरिने बताउछन् संघका कार्यक्रम व्यबस्थापक रञ्जन साह ।
बिजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुक मार्फत गराईने संघले जनाएको छ ।
प्रतियोगिमा सहभागि हुन चाहानेहरुले नेपाल नेत्रज्योति संघको टिकटक आईडी भिजिट गरी प्रतियोगिता सम्बन्धी थप जानकारीहरु प्राप्त गर्न सक्नेछन् ।
Shares