उदयपुरमा फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल सन्चालन, नेपाली र विदेशीहरु समेत स्कूलमा आकर्षित

माधव पोखरेल
प्रकाशित: २२ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरको बेलका नगरपालिका स्थित रामपुरमा दुई वर्षदेखि प्याराग्लाइडिङ गर्ने इच्छुकहरुकालागि फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल संचालनमा ल्याइएको छ ।

यस स्कुलमा नेपाली मात्र नभएर विदेशी नागरिकहरुले समेत प्याराग्लाइडिङ गर्न शिक्षा लिइरहेको छन भने नेपालका दर्जन बढी जिल्लाबाट आएर प्याराग्लाइडिङ गर्न यसको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्षका बारेमा जानकारी लिइरहेका छन् ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ को रमाइलो डाँडा, बेलका नगरपालिकाको ८ न.को बोक्लाङ र चम्पाकोट डाँडा, चौदण्डीगढीको १ नंमा पर्ने चौदण्डीगढी, उदयपुरगढीको ५ नं उदयपुरगढीबाट, कटारी नगरपालिकाको ७ नं मरजितपुरबाट र रौतामाई गाउँपालिकाको ६ नं को टावरडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको गाईघाटका प्याराग्लाइडिङका सोलो पाइलट जितु रोइलाले बताए ।

प्याराग्लाइडिङ स्कुलका संचालक सुरेन गुरुङले ६ वर्षदेखि स्कुल संचालन गरेको र प्याराग्लाइडिङ कोर्श संचालन भैरहेको जानकारी दिंदै बेजियम, फ्रान्स, बेलायत,भारत,श्रीलंका लगायतका देशबाट प्रशिक्षणकालागि आएको बताए ।

बेलकाको बोक्लाङ र चम्पाकोटबाट प्रशिक्षार्थीहरुलाई उडाउने काम भैरहेको जानकारी दिदै गुरुङले व्यवसायिक कोर्श डेढ वर्षको हुने र सो पछि मात्र व्यवसायिक उडान गर्न पाउने प्रावधान रहेको बताए ।

गुरुङका अनुसार कोर्श पुरा गरेपछि पोखरामा रहेको नेपाल एयर स्पोर्ट एसोसिएसनमा जाँच दिएर पास भएपछि प्रमाणपत्र लिएर लाइसेन्स प्राप्त गरेपछि मात्र व्यवसायिक उडान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

उदयपुरको सबै उडान क्षेत्रको स्वीकृति लिएको जानकारी दिंदै गुरुङले परीक्षण उडान तथा प्रशिक्षण दिंदा नजिकको विमानस्थललाई जानकारी दिएर सोलो उडान गर्ने व्यवस्था रहेको र उदयपुर जिल्लामा प्याराग्लाइडिङको प्रचुर सम्भावना भएको बताए ।

साहसिक खेलका रुपमा मानिएको व्याराग्लाइडिङमा अहिले धेरैको आकर्षण बढिरहेको र यसबाट पर्यटन प्रवद्र्धनका साथै व्यापार व्यवसाय फस्टाउने, होटल रेष्टुरेन्ट रिसोर्ट राम्रोसँग संचालन हुने अन्य रोजगारको अवसर पाउने भएकोले यस खेलले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने स्कुल संचालक गुरुङले बताए ।

अर्का सोलो पाइलट मान बहादुर लामाले कटारी नगरपालिकाले प्याराग्लाइडिङकालागि २० लाख बजेट छुट्याएर सहयोग गर्ने भएको जानकारी दिंदै कटारीमा पनि यस सम्बन्धी प्रशिषणकालागि स्कुल संचालनको तयारी हुँदै गरेको र व्यवसायिक उडानकालागि आवश्यक परामर्श तथा अन्य व्यवस्थापनमा जुटेको बताए ।

लामाले विधिवत रुपमा दर्ता गरेर स्कुल संचालन गरिने र व्यवसायिक उडान पनि सोही अनुरुप गर्ने लक्ष्य रहेको जानकारी दिंदै यस बारेमा सबै ेकाम र व्यवस्थापन कटारी कै सूर्य लामाले हेर्ने गरेको बताए ।

गाईघाटका सोलो पाइलट जितु रोइलाका अनुसार गाईघाटमा ४ जना, बेलकाको रामपुरमा १० जना, चौदण्डीगढीमा १ जना, कटारीमा ४ जनाले प्याराग्लाइडिङको प्रशिक्षण लिइसकेका छन भने अन्य धेरैले प्रशिक्षण लिइरहेको छन् ।

न्युनतम ३० मिटर ओरालो परेको भिरालो ठाउँबाट उडान गर्नु पर्ने भएकोले र सडक संजाल पुगेको ठाउँबाट उडान क्षेत्रमा सहजै पुग्न सकिने स्थान भएमा सहज हुने जानकारी दिंदै सोलो पाइलट रोइलाले उदयपुर जिल्लाको चिनारी बनाउन होस् वा पर्यटन प्रवद्र्धन कार्यक्रमलाई अगाडि बढाउन होस् जिल्लाका सबै स्थानीय तहले प्याराग्लाइडिङ खेललाई

प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर अगाडि बढाउनु पर्ने बताए ।

विधिवत कम्पनि रजिष्टारको कार्यालयमा दर्ता गरी संचालनमा आएको प्याराग्लाइडिङ स्कुलले धेरै अध्ययन पश्चात परीक्षण उडान सफल पारेको जानकारी दिंदै सोलो पाइलट रोइलाले बेल्जियमका बाबु छोरा जो दुबै जना पाइलट थिए उनीहरुले समेत प्रशिक्षण लिएर पास भएर गएको र नेपालको गोरखा, नवलपरासी,कास्की, गुल्मी, रोल्पा, सोलुखुम्बु, ओखलढुंगा,पाल्पा, काठमाण्डौ लगायतका दर्जन बढी जिल्लाहरुबाट उदयपुरको बेलका रामपुरमा प्रशिक्षण लिएर गएको बताए ।

उदयपुरमा न्युनतम ४ किलोमिटरदेखि १४ किलोमिटरसम्मको दुरीमा उडान हुने गरेको जानकारी दिंदै रोइलाले स्थानीयले सिकेको सीपलाई स्थानीय पालिकाले प्रोत्साहन वा व्यवसायिक रुपले संचालन गर्ने वातावरण मिलाई दिनु पर्ने र यस्तो साहसिक खेल सिक्न चाहनेलाई स्थानीय तहले आवश्यक व्यवस्था मिलाउनु पर्ने कुरामा जोड दिए ।

उदयपुर जिल्लामा जम्मा १६ जनाले सोलो पाइलट (एकल उडान गर्ने) उत्पादन भएको तर काम नपाएर बेरोजगार हुनु परेको गुनासो गर्दै सोलो पाइलट रोइलाले उदयपुरमा १२ महिना नै प्याराग्लाइडिङको उडान गर्न सकिने अवस्था रहेको परीक्षण उडानबाट प्रमाणित भएको बताए ।

प्याराग्लाइडिङका प्रशिक्षक तथा सबै प्रशिक्षार्थीहरुको धारणा स्थानीय तहले प्याराग्लाइडिङलाई साहसिक खेल पर्यटन प्रवद्र्धन कार्यक्रममा समावेश गरेर आ आफ्ना क्षेत्रका इच्छुक प्रशिक्षार्थीहरुलाई प्रशिक्षणमा पठाएर सहयोग गनुृ पर्ने र उडान क्षेत्र स्थानीय तह वा प्रदेश सरकारले खुलाउनु पर्ने माग गरेका छन् ।

स्थानीय तहको सिफारिसमा प्रदेश सरकारले वा नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित सम्भावित क्षेत्रमा प्याराग्लाइडिङ उडानकालागि नियमानुसार कार्यविधि वा निर्देशिका तयार पारेर उडान क्षेत्र खुला गर्नु पर्ने माग व्यवसायिक रुपमा प्याराग्लाइडिङ संचालन गर्न चाहनेहरुले गरिरहेको भए पनि सम्बन्धित निकायले यसमा चासो नदिएको गुनासो गरिरहेको पाइएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर