पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय होइन प्रेम

अर्थकागज
प्रकाशित: ०२ फागुन २०८१
Image description

प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामीकाँहा प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ ।

मेरो मान्यता छ- मायामा कुनै स्वार्थ र शर्त हुनुहुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको तहमा स्वीकार गर्नु हो ।

माया यस्तो होस्- सम्झँदा मात्र पनि मन आह्लादित होस्, आनन्दित होस्,पल्लवित होस्, अनि जीवनलाई नै उत्प्रेरित र ऊर्जाशील गराउन सकोस् । मलाई लाग्छ- हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गतिको नाम हो प्रेम ।”

आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसँग तुलनीय भएका छन् । मान्छेको निजी सम्पत्ति र निजी स्वार्थको कारण मानवप्रेम मानवघृणामा परिणत भएको पनि देख्दछौं । हत्या, हिंसा, युद्ध त्यसैको परिणाम हो ।

ब्यस्तता बढ्दो छ मान्छेमा । व्यस्तताको वावजुद जीवनलाई व्यवस्थित गर्ने चुनौति थपिएको छ मान्छेभित्र । समयको व्यवस्थापनमा नै जीवनको सफलता लुकेको हुन्छ । मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, प्रेम गर्नलाई अलग्गै समयको खाँचो पर्दैन । केवल भएको समयको ब्यबस्थापन गरे पुग्छ । पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय होइन प्रेम । हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो प्रेम । जे जस्तो डे र दिवस भएपनि यस्ता अवसरमा यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् ! पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस् । सवै मित्रहरुमा शुभकामना ! 

प्रतिक्रियाहरू

सम्बन्धित खबर