इरानसँग सम्झौता गर्न हतार छैन- ट्रम्प

अर्थकागज
प्रकाशित: १६ जेठ २०८३
Image description

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार बनाउने विषयमा सहमति जनाएको दाबी गरेका छन् । उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु आफ्नो प्रमुख लक्ष्य रहेको पनि दोहोर्‍याए ।

एक अन्तर्वार्तामा ट्रम्पले सुरुमा इरानले आणविक हतियार नबनाउने सहमति जनाएको र त्यसपछि किन्ने कि नकिन्ने भन्ने प्रश्नमा पनि इरानले हतियार नकिन्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

ट्रम्पले इरानसँग सम्झौता गर्न आफूलाई कुनै हतार नभएको भन्दै अमेरिका उत्कृष्ट सम्झौताको पक्षमा रहेको बताए । उनले सम्झौता नभएमा सैन्य उपाय अपनाएर समस्या अन्त्य गर्न सकिने चेतावनीसमेत दिएका छन्।

उनका अनुसार सम्झौता भएमा धेरै मानिसको ज्यान जोगिनेछ र हस्ताक्षर भएसँगै होर्मुज जलडमरूमध्य तत्काल खुल्न सक्नेछ । अमेरिका बिस्तारै आफ्ना सर्तहरू स्वीकार गराउन सफल भइरहेको दाबी पनि उनले गरे ।

यसैबीच, अमेरिकी रक्षा मन्त्री पेट हेगसेथले सिङ्गापुरमा आयोजित एक शिखर सम्मेलनमा इरानसँगको वार्ता असफल भए अमेरिका पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएका छन् ।

यो चेतावनी अमेरिका र इरानबीच प्रस्तावित सम्झौतामा रहेका मतभेद हटाउने प्रयास भइरहेका बेला आएको हो । प्रस्तावअनुसार अप्रिलको सुरुआतमा भएको अस्थायी युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र स्थायी सम्झौताको आधार तयार गर्ने योजना छ ।

ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा बसेको बैठकपछि प्रस्तावबारे अन्तिम निर्णय लिने बताएका थिए । तर करिब दुई घण्टा चलेको बैठकपछि निर्णय स्थगित गरिएको थियो। उता इरानले भने अहिलेसम्म कुनै समयसीमा घोषणा गरेको छैन ।

इरानका प्रमुख वार्ताकार मोहमद बाघर घालीबाफले सामाजिक सञ्जालमार्फत अमेरिकामाथि विश्वास नरहेको बताएका छन् । उनले अमेरिका स्वयंले ठोस कदम नचालेसम्म इरानले पनि कुनै नयाँ कदम नचाल्ने स्पष्ट पारेका छन् । साथै, हाल कुनै हतार नरहेको उनको भनाइ छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर