घट्दो बजारमा बढ्दो तनावलाई कसरी व्यवस्थापन गर्ने ? शिव चन्द्रको १० टिप्स !

अर्थकागज
प्रकाशित: ३० फागुन २०८०
Image description

नेशनल हाइड्रोपावरको साधारणसभा फेरी स्थगित, संचालक समिति कमाउ धन्दामा लिप्त भएको भन्दै सभाहलमा सेयरधनीको विरोध !

घटबढ भनेको सेयर बजारको नियति नै हो। बढ्दो बजार होस् या घट्दो बजारमा प्रवेश गर्नेहरु र निस्कनेहरु सधैं सक्रिय भई नै रहन्छन् रहन्छन्। बढ्दो बजार उल्लासमय हुन्छ। सबैतिर सेयर बजारकै चर्चा परिचर्चा हुन्छ भने घट्दो बजार निराश र सुनसान जस्तै हुन्छ। यो अवस्थामा सेयर भनेकै डुबाउने कुरा हो भन्ने भान आम जनमानसमा पर्न जान्छ। सेयर बजारबाट घाटा खाएर निस्केकाहरु त झन् सेयरको ''स" पनि सुन्न रुचाउँदैनन्। क्लब हाउस, भाइबर लगायत सामाजिक सञ्जालका विभिन्न ग्रुपहरु पनि निष्क्रिय जस्तै हुन्छन्। यस्तो अवस्थामा बजारबाट निस्किएकाहरु खुशी भए पनि बजारमै रहेका र उच्च बिन्दुमा प्रवेश गरेकाहरु भने तनावमा रहेका हुन्छन्। कुर्दा कुर्दा बजार धेरै तल आईसक्दा बेच्न पनि सकिँदैन थप खरिदको लागि रकम पनि जुटाउन सकिँदैन।

घट्दो बजारमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा निरुत्साहित गरिरहेका हुन्छन् भने परिवार, आफन्त, साथीभाईबाट पनि सहयोग प्राप्तिको अपेक्षा गर्न सकिँदैन। यस्तो अवस्थामा निम्न तरिकाबाट तनाव व्यवस्थापन गर्न सकिन्छ।

१. ऋणको व्यवस्थापन

सेयर बजारमा लगानी गर्नेले ऋणलाई भन्दा स्व-पुँजीलाई प्राथमिकतामा राख्नु पर्दछ। घट्दो बजारमा यदि कसैले ऋण लिएर लगानी गरेको भए सबैभन्दा पहिला ऋणलाई घटाउने, सकिन्छ भने हटाउने तर्फ ध्यान दिनु जरुरी छ। घट्दो बजारमा ऋण लिएर लगानी गर्दा यता बजारमा गरिएको लगानी पनि घट्दै जाने उता ऋणको ब्याजका साथै आउने मार्जिन कलको चाप धान्न मुश्किल हुने हुँदा ऋणको व्यवस्थापन अत्यन्त जरुरी छ।

२. पोर्टफोलियोको मर्मत संभार

घट्दो बजारले सबै कम्पनीलाई समान व्यवहार गरे जस्तो देखिएता पनि तुलनात्मक रुपमा बजारले बलिया कम्पनीहरुलाई साथ दिइरहेको हुन्छ। यो अवस्थामा लाभांश दिने हैसियत नभएका कमजोर कम्पनीबाट आधारभूत पक्ष बलियो भएका कम्पनीमा आफ्नो पोर्टफोलियोलाई स्थानान्तरण गर्नु जरुरी छ।

३.सकारात्मक सोचको विकास

घट्दो बजारलाई नकारात्मक रुपमा मात्र नसोची अवसरको रुपमा सदुपयोग गर्नु पर्दछ। बढेपछि घट्ने र घटेपछि बढ्ने विगतको ईतिहास लाई हेर्दै अध्यन अनुसन्धानमा जोड दिनु जरुरी हुन्छ।

४. अफवाह फैल्याउने मीडिया तथा सेयर बजार सम्बन्धी ग्रुपहरुबाट सतर्क रहने।

सेयर बजारमा बिक्री गर्नेहरुलाई घटिदिए हुन्थ्यो र खरिद गर्ने हरुलाई बढिदिए हुन्थ्यो भन्ने हुन्छ। घट्दो बजारमा लगानीकर्ताको ध्यान नकारात्मक पक्षले खिच्ने गर्दछ। सकारात्मकको तुलनामा नकारात्मक पक्षहरु नै सही जस्तो लाग्दछ। तसर्थ यस्तो बेलामा अफवाह फैल्याउने मीडिया तथा सेयर बजार सम्बन्धी ग्रुपहरुबाट टाढा तथा सतर्क रहने।

५. आफ्नो नियमित कार्यमा बढी समय दिने

घट्दो बजारमा पूर्ण समय बजारमै खर्च नगरी आफ्नो नियमित कामलाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ।

६. परिवार र साथीभाई संग बढी समय व्यतीत गर्ने

एक्लै बस्दा नकारात्मक सोच बढी हावी हुने हुँदा यस्तो बेलामा परिवार र साथिभाईसँग बढी समय व्यतीत गर्दै मनोरञ्जन लिने गर्नु पर्दछ।

७. ध्यान, योग, व्यायामको लागि समय निकाल्ने

ध्यानले एकाग्रता बढाई मानसिक स्वास्थ्यलाई मजबूत बनाउँछ भने योगा, व्यायामले शारीरिक रुपमा मजबूत बनाउँछ। तसर्थ जुनसुकै समयमा पनि ध्यान, योग, व्यायामको लागि समय निकाल्नु जरुरी हुन्छ।

८. कारोबार गर्दा विचार पुर्‍याउने

बढ्दो बजार जस्तै घट्दो बजारले पनि अवसर दिइरहेको हुन्छ। बढ्दो बजारको जस्तो ठूलो कारोबार नभएता पनि नियमित रुपमा सानो कारोबार भने भइरहेको हुन्छ। जसमा सानातिना उतारचढावहरु आईनै रहन्छन्। कारोबारी (Trader) ले यसको सक्दो सदुपयोग गर्न सक्दछन्। यो अवस्थामा धेरै लोभ नगरी कारोबार गर्नु पर्दछ। अल्पकालकोलागि लगानी गर्दा पनि राम्रा कम्पनी नै छनौट गर्नु उपयुक्त हुन्छ कारण तत्काल मूल्य तल झरेको अवस्थामा पनि लगानी लाई दीर्धकालिन प्रकृतिमा परिणत गर्न सकियोस्।

९. मोटिभेसनल पुस्तक तथा भिडियोहरु हेर्ने

मोटिभेसनल लेख तथा भिडियोहरु सत्य तथा तथ्यमा आधारित हुन्छन्, जसलाई नकार्ने ठाउँ नै हुँदैन। यस्ता पुस्तक तथा भिडियोहरु पढ्ने, हेर्ने गर्दा सही र गलत छुट्याउन सहज हुनुका साथै सकारात्मक सोचको विकास हुन्छ।

१०. आफु चुकेको कारण पत्ता लगाई भविष्यको लागि रणनीति बनाउने।

गल्ती जानाजान र नजानिकन दुई किसिमले हुन्छ। सेयर बजारमा हुने गल्ती भने नजानिकन हुन्छ। बजारबाट गरिने यस्तो गल्ती भनेको अर्को पटकको लागि शिक्षा र मार्गदर्शन हो। तसर्थ आफू चुकेको तथ्य पत्ता लगाई भविष्यको लागि रणनीति बनाउनु जरुरी छ।

सेयर बजार हामी कसैको पनि हातमा छैन। हामीले अनावश्यक चिन्ता गर्नुको पनि कुनै अर्थ छैन। बजार बढेको घट्नको लागि र घटेको बढ्नको लागि हो भन्ने मनन गर्दै माथि उल्लेख गरिएका १० वटा बुँदाहरु आत्मसाथ गर्न सके सेयर बजारको जस्तो सुकै प्रतिकूल अवस्थामा पनि खुशी र सुखी हुन सकिन्छ। 

प्रतिक्रियाहरू

एन्जिला तिमील्सिना

2 years ago

तपाईंको बिचारहरु उत्कृष्ट लाग्छ मलाई । हिजो आज लेख हरु अली काम स्सुन थालएका छन् । कन्जु स्याई नगरि लेख्दै गर्नुहोला ।

Samundra Sarkar

2 years ago

सुझाव मनन योग्य छ गुरु , धन्यवाद ।

सरोज घिमिरे

2 years ago

राम्रो छ हजुर

सरोज घिमिरे

2 years ago

राम्रो छ हजुर

सम्बन्धित खबर