नेशनल लाइफ कम्पनी विश्लेषण : कहिले हट केक, कहिले दिर्घकालिन लगानी !


नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुनैबेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानीकर्ताहरुको हटकेक कम्पनी थियो । प्रायजसो नेशनल लाइफ लगानीकर्ताको रोजाईमा परिरहन्छ । नेशनल लाइफ लगानीकर्ताहरुको आकर्षणमा पर्नुको कारण कम्पनी आफैँ हो । कम्पनी आफैँ भन्नुको मतलब कम्पनीको पर्फोमेन्स । आज हामी यहाँ कम्पनीको आधारभूत पक्षहरुलाई गहिराईसम्म केलाउने प्रयास गर्नेछौँ । सुरु गरौँ कम्पनीको परिचयबाट ।
कम्पनीको परिचय
देशको बढ्दो बीमा आवश्यकताहरू पूरा गर्ने प्रमुख उद्देश्यका साथ नेपाल कम्पनी ऐन सन् १९८८ र बीमा ऐन सन् १९६८ अन्तर्गत बीमा समितिबाट बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी सन् १९८८ देखि जीवन बीमा कम्पनीको रुपमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको थियो ।
तीन दशकभन्दा बढी समयदेखि, नेशनल लाइफले ग्राहकको सेवाको उच्चतम स्तरमा विश्वास गर्ने कम्पनीको रूपमा आफ्नो प्रतिष्ठा निर्माण गरेको छ ।
सेयर संरचना :
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर संरचना तलको तस्विरमा उल्लेख गरिए बमोजिम रहेको छ :
कम्पनीको व्यवस्थापकिय पक्ष
कुनै पनि कम्पनी कस्तो हो, कस्तो छ र कस्तो थियो भन्ने कुराको गहिराई बुझ्न उक्त कम्पनीको व्यवस्थापकिय पक्ष केलाउनु जरुरी हुन्छ । व्यवस्थापकिय पक्ष अर्थात् कम्पनीको व्यवस्थापन । कम्पनीको हरेक राम्रा तथा नराम्रा अवस्थाहरूमा व्यवस्थापकिय पक्षको ठूलो भुमिका हुने गर्दछ ।
नेशनल लाइफको व्यवस्थापनको कुरा गर्नुपर्दा हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री रहेका छन् । नेशनल लाइफबाटै आफ्नो करिअर सुरु गरेका खत्रीसँग २६ वर्षको अनुभव रहेको छ । कम्पनीको सीईओमा नियुक्त हुनुभन्दा अगाडि उनी कम्पनीकै निमित्त सीईओको रूपमा कार्यरत थिए । खत्रीले बीमा क्षेत्रमा लामो समयको अनुभव बटुलिसकेका हुनाले उनले नेशनल लाइफको पनि राम्ररी व्यवस्थापन गरिरहेका छन् ।
यस्तै, हाल कम्पनीको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह रहेकी छिन् । कम्पनीको सञ्चालकमा देवेन्द्र रमण खनाल, पवन बहादुर पाण्डे, कुशल मल्ली, भवानी राणा र कुलदिप सरण सिंह रहेका छन् । कम्पनीको स्वतन्त्र सञ्चालकमा सुमन प्रसाद शर्मा रहेका छन् ।
कम्पनीको वित्तीय अवस्था नियालौँ
कम्पनीको वित्तीय अवस्थाको बारेमा कुरा गर्नुपर्दा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा कम्पनीको नाफा केही प्रभावित भएको देखिन्छ । चौथो त्रैमाससम्म कम्पनीको नाफा ५० दशमलव ६९ प्रतिशतले घटेर ३६ करोड ४५ लाख ७४ हजार रुपैयाँमा सिमित भएको छ । यद्यपी कम्पनीको खुद बिमा शुल्क आर्जन र जीवन बिमा कोषको आकार भने बढेको छ । चौथो त्रैमाससम्म कम्पनीको खुद बिमा शुल्क १३ दशमलव १४ प्रतिशतले बढेर १५ अर्ब ९७ करोड ११ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बिमा कोषको आकार १८ दशमलव ६० प्रतिशतले बढेर ६० अर्ब २५ करोड १५ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ६ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४० करोड ७९ लाख ६७ हजार रुपैयाँ सञ्चित रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ४८ पैसा रहेको छ ।
सेयर बजारमा नेशनल लाइफ
सेयर बजारमा नेशनल लाइफको स्थानको चर्चा गर्नुपर्दा नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको ५ करोड १ लाख १६ हजार ६ सय ६६ कित्ता सेयर सूचिकृत छ । हिजो असोज १६ गते, मंगलबारको कारोबार अनुसार नेप्सेमा यस कम्पनीको सेयरमूल्य ५ सय ६७ रूपैयाँ १० पैसा रहेको छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ७ सय ५ रूपैयाँ र न्युनतम ४ सय ९२ रूपैयाँमा कारोबार भएको छ ।
कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य ६ सय रूपैयाँ ४१ पैसा रहेको छ । यस्तै, कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ६ सय २ रूपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल थोरै घटेको छ ।
लाभांश वितरणमा नेशनल लाईफको स्थान
नेशनल लाईफ लाभांश वितरणमा अब्बल कम्पनी हो । कम्पनीले हरेक वर्ष आफ्ना लगानीकर्ताहरुलाई औषतमा आकर्षक लाभांश वितरण गर्दै आएको छ ।
कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० मा ७२.५ प्रतिशत लाभांश (५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश (१० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।
नेशनल लाइफको १२ वर्षको लाभांश इतिहास हेर्नुस् :
१. आर्थिक वर्ष २०६७/६८ :
आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
२. आर्थिक वर्ष २०६८/६९ :
आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
३. आर्थिक वर्ष २०६९/७० :
आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद गरि कूल ७२.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७०/७१ :
आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७१/७२ :
आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७२/७३ :
आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७३/७४ :
आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
८. आर्थिक वर्ष २०७४/७५ :
आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत बाेनस र १२ प्रतिशत नगद गरि कूल १४.५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।
९. आर्थिक वर्ष २०७५/७६ :
आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।
१०. आर्थिक वर्ष २०७६/७७ :
आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
११. आर्थिक वर्ष २०७७/७८ :
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद गरि कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
१२. आर्थिक वर्ष २०७८/७९ :
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ६.५ प्रतिशत नगद गरि कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
समग्रमा : नेशनल लाइफमा लगानी कति सुरक्षित ?
समग्रमा नेशनल लाइफलाई हेर्दा नेशनल लाइफ लगानीकर्ताहरुको रोजाईमा पर्ने गरेको बीमा कम्पनीमध्ये एउटा हो । कम्पनीले आफ्ना लगानीकर्तालाई निरन्तर रुपमा प्रतिफल दिने गरेको छ । औषतमा कम्पनीको पर्फाेमेन्सहरु पनि राम्रो छ ।
हाल कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८८.७२ गुणा रहेको छ । सामान्यतय २० भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि सुरक्षित मानिन्छ । तर नेशनल लाइफको पिई रेसियो धेरै देखिन्छ ।
पीई रेसियो मात्रै नभएर हामीले लगानी गर्दा एउटा पक्षको आधारमा मात्र गर्नु हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । नेशनल लाइफको विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । यद्यपी हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।
यो पनि
लगानीकर्ताको हात खाली नगर्ने कुमारी बैंकको विश्लेषण : लगानी गर्न कति सुरक्षित ?
Shares