नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्ष र सिईओको रणनीति : सेयरधनीलाई लाभांश नदिने, खर्चको नाममा ब्रमलुट !
काठमाडौं । सेयरधनीले चर्काे विरोध गरेपछि साधारणसभा सम्पन्न गर्न हम्मेहम्मे परेको नेपाल इन्भेष्टमेण्ड मेगा बैंकका संचालक समिति र बैंकका उच्च पदका पदाधिकारीहरुले बैंकमा खुलेरै खर्च गरेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन अनुसार बैंकको नाफाभन्दा बढी त बैंकको खर्च देखिएको छ । यस आर्थिक वर्षमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो । सोही अवधिमा बैंकको कुल खर्च ४ अर्ब ९३ करोड २६लाख रुपैयाँ रहेको छ । बैंकको नाफा भन्दा खर्च धेरै बढी रहेको छ । नाफा भन्दा बढी खर्च भएपछि सेयरधनीले साधारणसभा हलमा चर्काे विरोध गरेका थिए ।
नेपाल इन्भेष्टमण्ट मेगा बैंकले अर्काे बर्षपनि सेयरधनीलाई लाभांश दिन सक्दैन : पृथ्वी बहादुर पाँडे-अध्यक्ष
गत चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा, कमलादीमा सम्पन्न साधारणसभामा बोल्ने अधिकांश सेयरधनीले नेपाल इन्भेष्टमेण्ड मेगा बैंकलाई संकटग्रस्त घोषणा गर्न मात्रै बाँकी रहेको बताएका थिए । विहान १० बजेदेखि सुरु भएको साधारणसभा बेलुका ५ बजेमात्रै सम्पन्न भएको थियो । सभामा बोल्ने सेयरधनीले सिइओ तलव भत्ता, बैंकको मनोरञ्जन खर्च, संचालकको तलव भत्ता, भम्रण खर्च र सुरक्षा खर्चमा देखिएको अनियमितताको विषयमा चर्काे विरोध गरेका थिए । बैंकको यस आर्थिक वर्षमा भ्रमण खर्च मात्रै २ करोड ४५ लाख ६९ हजार ५६३ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकको सुरक्षामा २२ करोड ७३ लाख ४८ हजार ८९३ रुपैयाँ खर्च गरेको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योति प्रकाश पाण्डेलाई तीन जना सुरक्षा गार्ड दिएको छ ।
बैंकको खर्च धेरै भएपछि यो आर्थिक वर्षमा लाभांश नदिएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आउने आर्थिक वर्षमा पनि लाभांश दिन नसक्ने बैंकको संचालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडेले साधारणसभामा घोषणा नै गरिसकेका छन् ।
Shares